
गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री बर्खास्तीमा परेका छन् ।
मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गर्नुभएको हो । पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री पोखरेलले उनलाई बर्खास्त गर्नुभएको छ । खड्का उममेदवार बन्न नपाएपछि निष्क्रिय थिए । खड्का यसअघि समानुपातिकबाट कांग्रेस प्रदेश सांसद भइसकेका छन् । मुख्यमन्त्री पोखरेलले खड्काले सम्हाल्दै आएको मन्त्रालय आफैंले सम्हाल्ने गरि हटाउनुभएको छ । खड्काले कास्की २ ख का उम्मेदवार विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै उनलाई बर्खास्त गरिएको बताइएको छ ।
खड्कामाथि सत्ता गठबन्धनका उम्मेदवार विरुद्ध भोट माग्दै हिँडेको आरोप लागेको छ । एमालेसँग मिलेर भोट काट्ने योजना बनाएपछि उनलाई बर्खास्त गरिएको स्रोतले बताएको छ । यसअघि सत्ता गठबन्धनकै उम्मेदवारलाई असहयोग गरेको आरोपमा उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएको थियो ।