images
images

दोलखामा ४६ जना उम्मेदवारको जमानत जफत

  • २९ मंसिर २०७९, बिहीबार १८:५५

दोलखा। दोलखामा ४६ जना उम्मेदवारको जमानत जफत भएको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा उम्मेदवारी दिएको ४६ जनाको जमानत जफत भएको हो । निर्वाचनमा उम्मेदवारी दिएका ५२ जनामध्ये ६ जनाबाहेक अन्य सबैको जमानत जफत भएको हो । जसअनुसार प्रतिनिधिसभा सदस्यतर्फ २१ जनाले उम्मेदवारी दिएकोमा १९ जनाको जमानत जफत भएको छ । उम्मेदवारी दिएकामध्ये माओवादी केन्द्रका गंगा कार्की विश्व र एमालेका बालकृष्ण शिवाकोटी बाहेक अन्य सबैको १ लाख ९० हजार जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै प्रदेशसभा तर्फ दुई वटा क्षेत्र रहेको जिल्लामा प्रदेशसभा १ मा १६ जनाको जमानत जफत भएको छ । प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका १८ जनामध्ये कांग्रेसका कुन्दनराज काफ्ले र एमालेका नरबहादुर श्रेष्ठ बाहेक १६ जनाको ८० हजार जमानत जफत भएको हो । प्रदेशसभा क्षेत्र नम्बर २ मा ११ जनाको जमानत जफत भएको छ । उम्मेदवारी दिएका १३ जना मध्ये एमालेका भरतबहादुर केसी र कांग्रेसका बर्मा लामाबाहेक ११ जनाको ५५ हजार जमानत जफत भएको छ । निर्वाचनमा सहभागी हुने दल र उम्मेदवारले उम्मेदवारी मनोनयनअघि धरौटी रकम बुझाउनुपर्छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ दल र उम्मेदवारका लागि धरौटी रकम फरक फरक तोकिएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचन ऐन २०७४ को दफा ७० बमोजिम प्रत्यक्षतर्फ उम्मेदवारी बन्नेले सम्बन्धीत निर्वाचन अधिकृतको कार्यालयमा १० हजार रुपैयाँ र प्रदेशसभाको प्रत्यक्षमा उम्मेदवारी दिने उम्मेदवारले ५ हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था रहेको छ ।