images
images

अपर तामाकोशीको हकप्रद शेयर बाँडफाँट, सर्वसाधरणलाई ३ करोड ४८ लाख ७१ हजार कित्ता वितरण

  • २९ मंसिर २०८०, शुक्रबार १५:३७

जिरी (दोलखा) । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर बाँडफाँट गरेको छ ।

अपर तामाकोशीले सर्वसाधरणलाई ३ करोड ४८ लाख ७१ हजार ४ सय ७० कित्ता सेयर बाँडफाँट गरेको हो । कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म १ः१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । सहबिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार संस्थापक समुहको लागि ५ करोड ४० लाख ९ हजार कित्ता सेयर निष्कासन गरिएकोमा संस्थापक समूहबाट पूर्ण सेयरको लागि आवेदन परेको थियो । नागरिक लगानी कोषको निष्कासन बिक्री प्रबन्धक तथा सनराइज क्यापिटल लिमिटेडको सह–बिक्री प्रबन्धकत्वमा निष्कासन गरिएको कम्पनीको सेयर बाँडफाँट गरिएको हो ।

सर्वसाधारणलाई ५ करोड १८ लाख ९१ हजार निष्कासन भएकोमा योग्य रहेका आवेदकलाई ३ करोड ४८ लाख ७१ हजार ४ सय ७० कित्ता सेयर बाँडफाँट गरिएको छ । सर्वसाधारण समूहतर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता सेयर कम्पनीले लिलाम मार्फत विक्री गर्ने छ । संस्थापक समूहतर्फ भने पुरै सेयर हकप्रदमा बिक्री भएकोले लिलामीमा आउने छैन । संस्थापक सेयरधनीबाट हकप्रद वापत प्राप्त सम्पूर्ण रकमबाट कम्पनीले केहि अंश ऋण तिरिसकेको छ । हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने रकम माथिल्लो तामाकोसी निर्माण गर्दा लिइएको अल्पकालीन ऋणको साँवा व्याज चुक्ता गर्न र २१ मेगावाटको रोल्वालिङ खोला र ९९ मेगावाटको तामाकोसी–५ जलविद्युत् आयोजनाको निर्माणमा खर्च गर्ने कम्पनीको तयारी छ ।

हकप्रद सेयर निष्कासनपछि संकलन भएको पूँजी र माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट भएको आम्दानी २० मेगावाटको रोल्वालिङ, ९९ मेगावाटको माथिल्लो तामाकोसी–५ र अन्य आयोजनामा लगानी गरिने कम्पनीले जनाएको छ । कम्पनीको दोलखामा राष्ट्रिय गौरवको आयोजनाको रुपमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा छ । बैंकको ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजनाको लगानी वृद्धि भई ८८ अर्ब रुपैयाँ पुगेको थियो ।

कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत लगानीका संस्थापक रहेका छन् । यस्तै, सर्वसाधारणको १५ प्रतिशत, दोलखा जिल्लाबासीको १० प्रतिशत तथा २४ प्रतिशत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानी छ ।