दोलखा । दोलखाको शैलुङ गाउँपालिकाका आधा दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शैलुङ गाउँपालिकामा कार्यरत चार जना पुरुष र दुई जना महिला कर्मचारीमा संक्रमण पुष्टि भएको हो । चरिकोट अस्पतालमा ५ जना कर्मचारीको पिसिआर गर्दा पाँचै जनाको रिर्पोट पोजेटिभ आएको र एक जना कर्मचारीको काठमाडौंमा पिसिआर परिक्षण गर्दा उनको पनि रिर्पोट पोजेटिभ आएको गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको कृषि, भेटेरीनरी, सामाजिक सुरक्षा समिति र न्यायिक समितिमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएका ५ जना कर्मचारी पालिकाकै आइसोलेसनमा र एक जना काठमाडौंमा होम आइसोलेसनमा रहेको गाउँपालिकाका अध्यक्ष दुलालले बताउनुभयो ।
कर्मचारीमा कोरोना संक्रमण देखिए पनि गाउँपालिकाको सेवा प्रवाह भने नरोकिएको शैलुङ गाउँपालिकाको कार्यालयले जनाएको छ । पालिकामा कार्यरत अन्य कर्मचारीमा पनि ज्वरो, रुघाखोकी लगायतका लक्षण देखिएपछि उनीहरुको पनि एन्टिजेन परिक्षण गर्ने तयारी भइरहेको छ ।