images
images

बागमती प्रदेशमा उपसभामुख चयनका लागि आज निर्वाचन हुने

  • २ माघ २०७९, सोमबार ०७:२९

हेटौंडा । बागमती प्रदेशको उपसभामुखका लागि आज निर्वाचन हुँदैछ ।
आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा उपसभामुखको लागि निर्वाचन हुन लागेको हो । आज बस्ने प्रदेशसभा बैठकमा उपसभामुखको लागि मत विभाजन हुने प्रदेशसभा सचिवालयले जनाएको छ । शुक्रबार निर्वाचन प्रणाली मार्फत नै सभामुख चयन गरेको बागमती प्रदेशमा उपसभामुखको निर्वाचन तालिका सार्वजनिक भएको थियो । उपसभामुखका लागि ३ जनाको उम्मेदवारी शुक्रबार नै दर्ता भइसकेको छ । सत्ता गठबन्धनबाट एमालेकी अप्सरा चापागाई, कांग्रेसकी सुना परियार र नेपाल मजदुर किसान पार्टीकी रिता काफ्लेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । ७ दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा र उपसभामुख एमालेको भागमा परेको थियो । राप्रपाका भुवन पाठक सभामुखमा निर्वाचित भइसकेका छन् । १ सय १० सदस्यीय बागमती प्रदेशसभामा ७ राजनीतिक दलको नेतृत्व रहेको छ । प्रदेशसभाको ५ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा सहित समाजवादी र हाम्रो नेपाली पार्टी पनि सरकारलाई समर्थन गर्दै गठबन्धनमा मिसिएको छ । कांग्रेस प्रमुख प्रतिपक्षमा छ भने नेमकिपा पनि प्रतिपक्षमा रहेको छ ।