काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारको सुरक्षामा बारम्बार त्रुटि भएपछि सरकारले सशस्त्र प्रहरीलाई खटाएको छ ।
भन्सार चेकजाँचमा प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमाण्डमा ३० जनाको टोली विमानस्थल भन्सारमा खटिएको हो । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत पुस २६ गते सशस्त्र प्रहरी खटाउने सम्बन्धी निर्णय गर्नुभएको थियो । सरकारको निर्णयअनुसार हिजादेखि भन्सारको चेकजाँचमा सशस्त्र प्रहरीलाई खटाइएको हो । भन्सारको नेतृत्व र निर्देशनमा सशस्त्र प्रहरीले विमानस्थलको आगमन कक्षको भन्सार क्षेत्रमा चेकजाँच सुरु गरेको छ । कार्यालयको सुरक्षा संवेदनशीलता, कामको बढ्दो चुनौती, कर्मचारीको अपर्याप्त लगायत विशेष आवश्यकतालाई मध्यनजर गरी सशस्त्र प्रहरीलाई परिचालन गर्नुपरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको निर्णयअनुसार भन्सारको प्रत्यक्ष सुपरिवेक्षण र निर्देशनमा एक सिफ्टमा ५ जना सशस्त्र प्रहरी खटिएको छ ।
हाल आगमन कक्षको वाक थ्रु गेट रहने क्षेत्रमा सशस्त्र प्रहरी खटिएको छ भने कुनै शंकास्पद व्यक्तिलाई थप अनुसन्धान गर्नुपरेमा भन्सारलाई सशस्त्र प्रहरीले सहयोग गर्ने भएको छ । विमानस्थलको सुरक्षामा सुधार गर्ने योजनाअनुसार सरकारले सशस्त्र प्रहरीलाई चेकजाँचमा खटाउन सुरु गरेको भन्सार विभागका एक अधिकारीले बताएका छन् । यसअघि निजी कम्पनीका सुरक्षाकर्मीले आगमन कक्षको चेकजाँच गर्दै आएका थिए ।
पछिल्लो समय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करी भएको घटनामा भन्सारको नै कमजोरी हुँदै आएको भन्दै प्रश्न उठ्न थालेको छ । भन्सारको चेकजाँचमा निजी सुरक्षा कम्पनीका अनुभव नभएका कर्मचारी खटाएपछि चेकजाँच प्रणालीमा प्रश्न उठदै आएको हो । भन्सार विभागमा हाल चारवटा नयाँ एक्सरे थप गरेको बताइएको छ । कतिपय अवस्थामा दक्ष कर्मचारीको अभाव तथा प्रविधिको कमजोरीले तस्करी हुने गरेको छ । सोही अनुसार विमानस्थलको सुरक्षामा सुधार गर्नका लागि सरकारले सशस्त्र प्रहरीलाई खटाइएको हो ।
विमानस्थलबाट हुने सुन तस्करीमा भन्सार, नेपाल प्रहरीका कर्मचारी, नागरिक उडड्यन प्राधिकरण तथा एयरलाइन्स कम्पनीका कर्मचारीहरु समेत पक्राउ पर्दै आएका छन् । सशस्त्र प्रहरीसमेत हुँदा विमानस्थलका निकायहरुबीच क्रसचेत हुने भएकाले सुरक्षामा सुधार हुने गृह मन्त्रालयले जनाएको छ ।










