images
images

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा दोलखाका ४८ विद्यालय छनौट

  • ४ फाल्गुन २०७८, बुधबार १३:०४

जिरी (दोलखा) । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत दोलखाको ४८ वटा विद्यालय छनौट भएका छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरको ४ हजार १ सय ५७ वटा विद्यालय छनौट हुँदा दोलखाको पनि ४८ वटा विद्यालय परेका हुन् । जसअनुसार कालिञ्चोक र तामाकोशी गाउँपालिकामा ७/७ वटा विद्यालय छनौटमा परेका छन् भने मेलुङ, बैतेश्वर, शैलुङ, विगु गाउँपालिका र भीमेश्वर नगरपालिकाको ६/६ वटा विद्यालय छनौटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरु छनौट गरेको हो । जसअन्तर्गत ४ कोठे/दुई कोठे भवन निर्माण, आइसिटी ल्याव व्यवस्थापन, प्राविधिक ल्याब र नयाँ प्राविधिक शिक्षालय निर्माण लगायतका कार्यक्रमहरु रहेका छन् । जसमा ४ कोठे भवन निर्माण कार्यक्रमका लागि प्रति विद्यालय ३६ लाख, २ कोठे निर्माणका लागि १८ लाख, प्राविधिक ल्यावको लागि १० लाख र आइसिटीको लागि ६ लाख ५० हजारको दरले बजेट छुटाइएको छ ।

दोलखामा ल्याव अन्तर्गत भीमेश्वर नगरपालिकास्थित सर्व मावि र गौरीशंकर गाउँपालिकास्थित हलेश्वर मावि छनौटमा परेको छ । अन्य छनौटमा परेका ४६ वटा विद्यालयहरु आइसीटी कार्यक्रम अन्तर्गत छनौट भएका छन् । तर, दोलखा सहित बागमती प्रदेशभरको १३ वटै जिल्लामा विद्यालय भवन निर्माणका लागि भने विद्यालय छनौट र बजेट परेको छैन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि सरकारले ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ । विद्यालय छनोट गरी बाँकी १ अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षामन्त्री पौडेलले जानकारी दिनुभयो ।

हेनुहोस्, छनौटमा परेका विद्यालय र कार्यक्रमहरु