
दोलखा । दोलखामा सदरमुकाम चरिकोटमा ९ वर्षदेखि अलपत्र सभाहल निर्माण कार्य सुरु भएको छ ।
जिल्ला अदालत दोलखाको माथिल्लोतर्फ करिब एक रोपनी क्षेत्रफलमा निर्माणाधिन अवस्थामै अलपत्र परेको सभाहल निर्माण कार्य सुरु भएको हो । २०७० सालदेखि अलपत्र अवस्थामा रहेको सभाहल निर्माणको काम माघ १५ पछि सुरु भएको हो । ९ बर्षअघि देखि निर्माण सुरु भएपनि हालसम्म ६० प्रतिशत मात्रै काम सम्पन्न भएको सभाहलको अहिले माथिल्लो तल्ला निर्माणको काम जारी छ । आगामी चैतभित्र निर्माण सम्पन्न हुने गरी निर्माण कार्यलाई तीब्रता दिईएको निर्माण कम्पनिले जनाएको छ । तत्कालिन जिल्ला विकास समिती सभापतिको सरकारी निवास रहेको सो स्थान खाली भएपछि जिविसले जग्गा उपलब्ध गराएपछि २०७० सालमा सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले सभाहल निर्माणका लागि टेण्डर आव्ह्वान गरेको थियो ।
सभाहल निर्माणका लागि २०७० साल माघ २० गते रौताहा, ओमबुद्ध, सुन्दरीमाई जेवी कम्पनीले २०७३ साल असार ३२ गतेसम्म काम सक्ने गरी १ करोड ७९ लाख २६ हजार ४ सय २५ रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको हो । यद्धपी सम्झौता बमोजिम काम नसकिएपछि सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले ठेकेदार कम्पनीलाई २०७३ फागुन १ गतेबाट २०७५ साल असार मसान्तसम्म र २०७५ साल साउन १ गतेबाट २०७६ साल फागुन मसान्त सम्म म्याद थप गरेको थियो ।सो समयमा समेत काम पुरा नगरेपछि आयोजनाले ठेक्का तोड्ने प्रक्रिया सुरु गरेपछि सो ठेकेदार कम्पनीले निर्माणको कार्य सुरु गरेको सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका इन्जिनियर अनुज पण्डितले जानकारी दिनुभयो ।
उहाँका अनुसार ठेकेदार कम्पनीले सभाहल निर्माण कार्यका लागि हालसम्म १ करोड ४८ लाख भुक्तानी लगिसकेको छ । निर्माण कम्पनी, रौताहा ओमबुद्ध सुन्दरीमाई जेवीका ठेकेदार धीरेन्द्र दहालले यअसघि भुकम्प, नाकाबन्दी र लकडाउन कारण ढिलाई भएपनि अब समयमै काम सम्पन्न गर्ने बताउनुभयो । उहाँले चैत १५ भित्र सभाहल भवन निर्माणको काम सकेर आयोजनालाई जिम्मा लगाइने दाबी गर्नुभयो ।