
हेटौँडा । बागमती प्रदेश सरकारले सात महिनाको अवधिमा २० प्रतिशत बजेट खर्च गरेको छ ।
प्रदेश सरकारले माघ मसान्त सम्ममा विनियोजित बजेटको २०.१८ प्रतिशत बजेट मात्रै खर्च गरेको हो । प्रदेश सरकारले चालु वर्ष कुल ६४ अर्ब ५४ करोड ४ लाख बराबरको बजेट ल्याएकोमा हालसम्म १३ अर्ब २ करोड ७० लाख बजेट खर्च भएको हो । सरकारले पुस मसान्तसम्म १६.२७ प्रतिशत खर्च गरेकोमा पछिल्लो एक महिनामा ३.९१ प्रतिशत बजेट खर्च गरेको छ ।
यो अवधिमा प्रदेश सरकारले पूँजीगत भन्दा चालु तर्फ बढि बजेट निकासा गरेको छ । जसअनुसार चालु तर्फ ७ अर्ब ७२ करोड ६ लाख ९२ हजार बजेट खर्च हुँदा पूँजीगततर्फ ५ अर्ब ३० करोड ६३ लाख ५९ हजार खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
चालु तर्फको बजेट कर्मचारी तथा पदाधिकारीको तलब भत्ता सहित कार्यालय व्यवस्थापन तर्फ खर्च हुने गरेको छ भने पूँजीगत शीर्षकको बजेट विकास निर्माणको कामम खर्च हुने गरेको छ । यो खर्चको अवस्थालाई हेर्दा तलव भत्ता तथा कार्यालय सञ्चालन खर्चमा उत्साह देखिएपनि विकास निर्माणमा वित्तिय प्रगती निराशाजनक देखिएको छ । बागमती प्रदेशमा यो वर्ष बजेटको ठुलो हिस्सा बोकेको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका थप कार्यालय खुलेपनि विकास बजेट खर्चमा निराशाजनक स्थिति कायम रहेको हो ।
यसैगरी, बागमती सरकारले चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३०.७३ प्रतिशत अर्थात १९ अर्ब ८३ करोड ६३ लाख ५७ हजार आम्दानी गरेको छ । त्यसमध्य प्रदेश सरकारले आफ्नै स्रोतबाट भने २ अर्ब ९ करोड ७५ लाख ५६ हजार मात्रै राजश्व संकलन गरेको छ ।