images
images

प्रेस स्वतन्त्रता बिरोधी हर्कत स्विकार्य नहुने पत्रकार महासंघका अध्यक्ष पोखरेलको भनाई

  • २ चैत्र २०७८, बुधबार ०७:३०

दोलखा । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताको विरुद्धका कुनै पनि हर्कत स्वीकार गर्न नसक्ने बताउनुभएको छ ।

सदरमुकाम चरिकोटमा हिजोदेखि सुरु भएको अनुसन्धानमूलक पत्रकारीता र फिचर लेखन तालिमको उदघाटन गर्दै अध्यक्ष पोखरेलले यस्तो बताउनुभएको हो । सरकारले सुचना तथा प्रशारण कानुनमार्फत् प्रेस स्वतन्त्रतालाई बन्धक बनाउने प्रयास गरेको भन्दै उहाँले पत्रकार महासंघ त्यसको विरुद्धमा रहेको बताउनुभयो । सरकारले पत्रकारलाई आफुअनकुल बनाउने गरी कानुनले बाँध्न खोजेको अध्यक्ष पोखरेलको आरोप छ ।
तालिम उदघाटन सत्रमा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण दिनुभएको थियो । पत्रकार महासंघ दोलखा शाखाको आयोजना र भीमेश्वर नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको तालिम आजसम्म चल्नेछ ।

पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपसंकर चौंलागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य चिरिञ्जीवि मास्के, दोलखाका निमित्त प्रमुख जिल्ला अधिकारी दिपक कोइराला, सामुदायिक रेडियो प्रशारक संघ अकोरावका निवर्तमान केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । दुई दिने तालिममा दोलखाका दुई दर्जन बढी पत्रकारहरुको सहभागिता रहेको छ ।