images
images

दोलखा र आसपासका जिल्लामा दुर्घटनामा परि १८ जनाको मृत्यु

दोलखा । फागुन महिनामा दोलखा र रामेछाप सहित आसपासका छिमेकी जिल्लामा विभिन्न दुर्घटनामा परि १८ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् ।

फागुन महिना सुरु भएदेखि ३० दिनको अवधिमा दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपालचोक र सोलुखुम्बु सहित ८ जिल्लामा भएका १६ वटा दुर्घटनामा परि १८ जनाको मृत्यु भएको हो । जस अनुसार दोलखामा मात्रै यो अवधिमा ४ जनाको मृत्यु भएको छ भने एक जनाको हत्या भएको छ । केही दिन अघि अर्थात यही फागुन २६ गते मात्रै दोलखाको रोल्वालिङ क्षेत्रको भ्रमणमा आएका एक जना पर्यटकको मृत्यु भएको छ । विदेशी पर्यटकसँगै गाइडको रुपमा आएका तनहुँको आबु खैरेनी गाउँपालिका वडा नम्बर ३ का ४५ वर्षिय सुकबहादुर गुरुङको खोलामा खसेर मृत्यु भएको हो । त्यसअघि फागुन २५ गते गौरीशंकर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा गौरीशंकरकै वडा नम्बर ४ पाल्दुङपोखरीका ३३ वर्षिय लिलाबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको थियो । सो घटनामा परि अन्य तीन जना घाइते भएका थिए । त्यसअघि २३ गते तामाकोशी गाउँपालिकाको वडा नम्बर ७ हावाँस्थित ढुंगा खानीको पहिरोले पुर्दा दुई युवकको मृत्यु भएको थियो । हाँवास्थित खरिखानीमा पहिरोले पुरिएर धादिङको रोराङ गाउँपालिका वडा नम्बर २ का सन्तोष तमाङ र बसन्त तमाङको ज्यान गएको हो ।

जिल्लामा विभिन्न तीन दुर्घटनामा ४ जनाको मृत्यु हुदा एक जनाको हत्या पनि भएको छ । भीमेश्वर नगरपालिका २ का साहिल तामाङको हत्या गरिएर फालिएको अवस्थामा यही फागुन १३ गते शव फेला परेको थियो । सो घटनामा संलग्न २ जना बालक सहित ३ जनालाई दोलखा प्रहरीले पक्राउ गरिसकेको छ ।

फागुन महिना सुरु भएदेखि फागुन अन्तिम दिन अर्थात ३० गते सम्मको अवधिमा दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपालचोक र सोलुखुम्बु सहित ८ जिल्लामा भएका १६ वटा दुर्घटनामा परि १८ जनाको मृत्यु भएको छ । जस अनुसार दोलखामा मात्रै यो अवधिमा ४ जनाको मृत्यु भएको छ भने एक जनाको हत्या भएको छ । फागुन महिनामा जिल्लामा विभिन्न तीन दुर्घटनामा ४ जनाको मृत्यु हुदा एक जनाको हत्या पनि भएको हो । 

यस्तै, रामेछापमा यो महिनामा दुई घटनामा एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । फागुन ११ गते मन्थली नगरपालिका २ स्थित तामाकोशी नदीमा एक महिला मृत फेला परेकी थिइन । २२ गते जिल्लाकै मन्थली नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको थियो । तामाकोशी नदीमा ट्याक्टर खस्दा मन्थली नगरपालिका वडा नम्बर २ करमबोटका २२ वर्षीय ट्याक्टर चालक सरोज माझीको मृत्यु भएको हो । पछिल्लो एक महिनामा सिन्धुलीमा ४ जनाको जयान गएकोे छ । आइतबार मात्रै छुट्टा–छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु भएको सिन्धुलीका प्रहरी निरीक्षक बुद्धिमान तामाङले जानकारी दिनुभयो । प्रहरीका अनुसार आइतबार सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाईते भएका छन् । दुर्घटनामा परी ट्रिपरमा सवार उदपुरको कटारी नगरपालिका वडा नम्बर २ का १९ वर्षीय दिपेन्द्र कुवँर र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको हो । आइतबारनै सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी खोटाङका अविनास राईको पनि मृत्यु भएको छ । यसअघि सिन्धुलीमा फागुन २३ गते मोटरसाइकल दुर्घटनामा परि २७ वर्षीय एक पुरुषको मृत्यु भएको थियो । सञ्चारकर्मी समेत रहेका अञ्जन राना मगरको मोटरसाइकल दुर्घटनामा ज्यान गएको हो ।

यसैगरी, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा दुई दुर्घटनामा २ जनाको मृत्यु भएको छ । गत २० गते साँगाचोकगढी नगरपालिकामा ब्याक होलोडर दुर्घटना हुँदा सहचालक महोत्तरीका १८ वर्षीय रोहित आलेमगरको मृत्यु भएको थियो भने फागुन १० गते जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ का ४० वर्षिय रामकाजी थापाको भीरबाट लडेर मृत्यु भएको थियो । गत ११ गते काभ्रेपलाञ्चोकमा ट्रिपरको ठक्करबाट एक पुरुषको मृत्यु हुँदा सोही दिन सोलुखुम्बुमा एक बालिकाको हिउँमा चिप्लिएर मृत्यु भएको थियो । सोलुखुम्बुमा फागुन १३ गते पनि सवारी दुर्घटना हुँदा गोरखाको साविक सौरापानी गाविस ५ का ३० वर्षीय अर्जुन थेवाली मगरको मृत्यु भएको थियो ।

यही फागुन ८ गते भक्तपुरमा ट्रिपरको ठक्करबाट काभ्रेपलाञ्चोकी ८ वर्षीया बालिका विनिता मगरको मृत्यु भएको थियो भने फागुन ३ गते भक्तपुरमै बस र मोटरसाइकल ठोक्किँदा दोलखाका एक युवकले ज्यान गुमाएका थिए । फागुन २२ गते ओखलढुंगामा जिप दुर्घटनामा परि चिसङखुगढी गाउँपालिका वडा नम्बर ३ की ३८ वर्षिया कुमारी श्रेष्ठको मृत्यु भएको थियो । सो घटनामा ७ जना घाइते भएका थिए ।