
जिरी (दोलखा) । रामेछापको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी खड्का (दिनेशले) पालिकाभित्रका विभिन्न विद्यालयहरुमा आफ्नो स्वर्गीय पिताको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
हिजो गोकुलगंगा गाउँपालिका–१ चुचुरेस्थित श्री शिव आधारभुत विद्यालयको ३१ औं वर्षीकोत्सव समारोहमा बोल्दै अध्यक्ष खड्काले यस्तो घोषणा गर्नुभएको हो । उहाँले आफ्ना स्वर्गीय पिताको नाममा अक्षय कोष स्थापनाको थालनी शिव आधारभूत विद्यालयबाटै गर्नुहुने भएको छ । अध्यक्ष खड्काले आफ्ना स्वर्गीय पिता पूर्ण बहादुर खड्काको नाममा हिजो पहिलो पटक शिव आधारभुत विद्यालयमा एक लाख एक हजारको अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभयो । साविकको नामाडी गाविस अध्यक्ष समेत रहेका पूर्ण बहादुर खड्काको २०५९ सालमा स्वर्गरोहण भएको थियो । अहिले आफ्ना बुबाकै प्रेरणाले गर्दा विद्यालयहरुमा आफुले व्यक्तिगत रुपमा अक्षय कोष स्थापना गर्न लागेको अध्यक्ष खड्काले बताउनुभयो ।
पालिकाभित्रको अन्य विद्यालयहरुमा पनि अक्षय कोष स्थापना गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा निर्वाचित खड्काले पालिकाको नेतृत्व आफुले लिएसँगै पालिकाबाट विद्यालय र जनताको लागि गर्न सकिने काम गर्नुका साथै व्यक्तिगत कामहरुको पनि थालनी गर्नुभएको हो । वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन पुगेका खड्काले विद्यालयहरुलाई शैक्षिक गुणस्तरमा ध्यान दिन निर्देशन दिँदै भौतिक पूर्वाधारको जिम्मा आफुहरुले लिने बताउनुभएको थियो ।