
काठमाडौं । कालीगण्डकी करिडोरमा काम गर्ने सिन्धुलीका एक सहित दुई जना नदीमा मृत फेला परेका छन् ।
बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा सिन्धुलीको गोलाचौर गाउँपालिका–६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसीपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटी मृत फेला परेका हुन् ।
दुवै जना मृतक कालीगण्डकी करिडोर सडक खण्डमा काम गर्दै आएका कामदार रहेको प्रहरीले जनाएको छ । मृतक अस्लामी बगनासकाली गाउँपालिका–६ दर्पुकस्थित कालीगण्डकी करिडोर सडक खण्डको अस्थायी क्याम्पमा बसी सोही सडक खण्डमा डोजर अप्रेटरको काम गर्दै आए थिए ।
उनी गत फागुन २६ गते बेलुका खाना खाई साथीहरूसँगै क्याम्पमा सुतेकोमा २७ गते बिहान हेर्दा ओछ्यानमा नभएको र खोजतलास गर्दा ५ दिनपछि हिजो राति मृत अवस्थामा भेटिएका हुन् । अस्लामीलाई खोजतलासको क्रममा माईचौरस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
यस्तै राम्दी–रानीमहल निर्माणाधीन कालीगण्डकी करिडोर सडकमा काम गर्दै आएका रास्कोटी नदी किनारमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । उनलाई खोजतलास गर्ने क्रममा घटनास्थलदेखि दुई सय मिटर तल मृत अवस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक मल्लले बताउनु भयो ।
प्रारम्भिक अनुसन्धानपछि अस्लामीको शवलाई पोस्टमार्टमको लागि टिचिङ अस्पताल काठमाडौं र रास्कोटीको शवलाई पाल्पा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुवै घटनाको विषयमा अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।