
काठमाडौँ । सिन्धुपाल्चोकस्थित मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती बाह्रबिसे प्रसारण लाईन एक महिना भित्र निर्माण सम्पन्न गर्न निर्देशन दिईएको छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाईमा निर्माण भईरहेको भोटेकोशी आयोजना र खिम्ती–बाह्रबिसे प्रशारण लाईन एक महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिईएको हो । प्रशारण लाईन र सबस्टेशनको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा चिलिमे जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) एवम मध्यभोटेकोशी जलविद्युत कम्पनी सञ्चालक समितिका अध्यक्ष सुभाष कुमार मिश्र सहितको टोलीले अनुगमन समेत गरेको छ ।
अनुगमनका क्रममा कार्यकारी निर्देशक घिसिङले हिउँदयामको विद्युतभार व्यवस्थापनका लागि ४० मेगावटको पनि ठुलो भूमीका हुने भन्दै तीव्र रुपमा काम अगाडी बढाउन निर्देशन दिनुभयो । हिउँदयामको माग बमोजिम विद्युत आपुर्ति व्यवस्थापनका लागि प्राधिकरण व्यवस्थापनले मध्यभोटेकोशीलाई शीघ्र सञ्चालनमा ल्याउन पहलका साथै ताकेता गरेको हो । १०२ मेगावट क्षमताको मध्यभोटेकोशीबाट हिउँदयाममा ४० मेगावटसम्म विद्युत उत्पादन हुनेछ ।
मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाह हुने तामाकोशी–काठमाडौँ प्रसारण लाईन आयोजना अन्र्तगत रामेछापस्थित नयाँ खिम्ती सबस्टेशनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको ४ सय केभी प्रशारण लाईन निर्माण अन्तिम चरणमा रहेको छ । प्रशारण लाईन आयोजना अन्र्तगत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पुर्ण टावरहरु राखिसकिएको छ भने करिब एक किलोमिटर तार तान्न बाँकी छ ।
४ सय केभी नयाँ खिम्ती–बाह्रबिसे प्रशारण लाईनलाई तत्काल २ सय केभीमा सञ्चालनमा ल्याएर मध्यभोटेकोशीको विद्युतलाई राष्ट्रिय प्रशारण ग्रीडमा समाहित गरिनेछ ।