images
images

जिल्लामै पहिलो पटक नेकपा माओवादी केन्द्र वैतेश्वरको निर्वाचन सम्पर्क कार्यालय स्थापना

  • ३ बैशाख २०७९, शनिबार १६:४२

दोलखा । नेकपा माओवादी केन्द्र दोलखाले स्थानीय तह निर्वाचनलाई लक्षित गरी जिल्लामै पहिलो पटक निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ ।

माओवादी केन्द्र वैतेश्वर गाउँपालिकाको निर्वाचन सम्पर्क कार्यालय वडा नम्बर ५ स्थित मैनापोखरी बजारमा एक कार्यक्रमको आयोजना गरी स्थापना गरिएको हो । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै तयारी तिव्र पारेको माओवादीले वैतेश्वर गाउँपालिकाको मैनापोखरीमा आज जिल्लामै पहिलो पटक निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको हो । सम्पर्क कार्यालय उद्धघाटन गर्दै माओवादी केन्द्रका नेता नरबहादुर पाख्रिनले दोलखामा नेपाली कांग्रेसको हठ रहेमा गठबन्धन विना नै माओवादी केन्द्रले एकल रुपमा निर्वाचन लड्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ । गठबन्धन दलहरु मिलेर जाने भएपनि माओवादी आन्तरिक रुपमा तयारी अवस्थामा रहन जरुरी रहेको उहाँको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र बैतेश्वर गाउँपालिकाका अध्यक्ष पदका प्रस्तावित उम्मेदवार लक्ष्मण खड्काले वैतेश्वर गाउँपालिकाको विकाश र समृद्धिका लागि आफुले पालिकामा उम्मेदवार दिन चाहेको बताउनुभयो । उहाँले निर्वाचनमा आफुलाई सहयोग गर्न वैतेश्वरवासीलाई आग्रह गर्नुभएको छ । निर्वाचन कार्यालय उद्धघाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एवम् बागमती प्रदेश कमिटी सदस्य परशुराम रिमाल, नेकपा माओवादी केन्द्र वैतेश्वर गाउँपालिकाका अध्यक्ष भीमबहादुर श्रेष्ठ लगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।