
काठमाडौँ । बीपी लोकमार्ग पुननिर्माणको काम तीव्र रुपमा अघि बढेको छ ।
बर्खायाम नजिकिएसँगै ती सडकमा सवारी सञ्चालन गर्न सकिने अवस्था नभएका कारण सडक पुननिर्माणको काम सुरु गरिएको हो । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार आगामी बर्खायामलाई मध्यनजर गर्दै खोलाको सतहभन्दा माथि उठाएर वैकल्पिक सडक निर्माण भईरहेको छ । जसअन्र्तगत चौकीडाँडास्थित धेरै क्षतिग्रस्त बनेको खण्डमा खोलाको सतहबाट माथि उठाएर वैकल्पिक बाटो निर्माणको काम भईरहेको छ ।
हिउँदभर अस्थायी रुपमा जसोतसो सञ्चालनमा आएको सो लोकमार्गमा बर्खायाममा सवारी चलाउन सहज छैन । बाढीले क्षतिग्रस्त सो लोकमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारी साधन सञ्चालन भईरहेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले वैकल्पिक सडक बनाएर खोलाको बगरबाट सवारी सञ्चालन हुँदै आएको हो ।
तीन खण्डको ठेक्का आह्वान
गत असोजको बाढी पहिरोले विपि लोकमार्गको २९ किलोमिटर सडक खण्डमा क्षति भएको थियो । कुल क्षतिग्रस्त २९.५ किलोमिटर सडक दुई लेनमा विस्तारसहित पुननिर्माण गर्नेगरी तयारी थालिएको छ । विपि लोकमार्ग पुननिर्माणका लागि सरकारले चार वटा खण्डमा छुट्याएर तीन वटाको ठेक्का आह्वान गरेको छ भने एउटा बाँकी छ । सो सडक पुननिर्माणका लागि सिन्धुलीतर्फ एउटा र काभ्रेतर्फ तीन वटा खण्डमा विभाजन गरी ठेक्का आह्वान सुरु गरिएको हो ।
पहिलो प्याकेजमा गत फागुन २८ गते सिन्धुलीतर्फको नेपालथोक–बर्खेखोला खण्डको ठेक्का गरिएको थियो । जसको लम्बाई करिव ५ किलोमिटर छ । त्यस्तै, दोस्रो प्याकेज अन्र्तगत काभ्रे खण्डको डालाबेसीदेखि चारसय बेँसीसम्मको साढे ८ किलोमिटर खण्डमा चैत ५ मा ठेक्का आह्वान भएको थियो भने चारसय बेसीदेखी भकुण्डेबेँसीको ११ किलोमिटर खण्डको पनि चैत ७ गते नै ठेक्का आह्वान भईसकेको छ ।
जाईकाको चासो
बाँकी रहेको एउटा प्याकेजमा भने जाईकाले चासो देखाएकाले जाइकाले निर्माण गर्ने विषयमा छलफल भईरहेको सडक विभागले जनाएको छ । बीपी लोकमार्गको डालाबेसी–बर्खेखोला करिब साँढे ५ किलोमिटर सडक पुननिर्माणका लागि जाईकाले डिजाईन थालेको छ । जाईकाले डिजाईन सुरु गरेपनि निर्माण गर्ने की नगर्ने भन्नेमा भने अझै अन्यौल छ ।
विपी लोकमार्ग जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाईका) को प्राविधिक र आर्थिक सहयोगमा निर्माण गरिएको थियो ।