
जिरी(दोलखा) । लामो समयदेखि बालीनालीको लागि आकाशे पानीको पर्खाइमा रहेका दोलखाका किसानमा पानी परेपछि पनि निराशा छाएको छ ।
जिल्लाको विभिन्न क्षेत्रमा आकाशे पानी सँगै असिना पनि परेपछि बालीमा पुगेको क्षतिले किसानमा निराशा छाएको हो । जिल्लाकोे जिरी नगरपालिका र बैतेश्वर गाउँपालिका क्षेत्रमा असिना पानीले बालीनाली सखाप पारेको छ । विशेषगरी जिरी नगरपालिकाको वडा नम्बर ७ र ८ मा असिनाले आलु खेतीमा बढी क्षतिपुर्याएको जिरी नगरपालिकाका कृषिप्राविधिक लवहरी खत्रीले जानकारी दिनुभयो ।
किसानको मुख्य बालीकोे रुपमा रहेको आलु बालीनै असिनाले सखाप पारेपछि किसानहरु चिन्तित भएका छन् । जिरी–७ खावाका स्थानीय बिरे शेर्पाका अनुसार मंगलबार परेको असिना पानीले आलु खेतीमा धेरै क्षति पुगेको छ । भर्खर उम्रेर हरियो हुँदै गरेको आलुको पात र डाँठ समेत क्षतविक्षद भएर जमिन मात्रै देखिने अवस्था रहेको किसान शेर्पा बताउनुहुन्छ ।
बैतेश्वर गाउँपालिकामा पनि हल्का असिना परेको छ । यद्धपी बालीनालीमा धेरै क्षति नपुगेको गाउँपालिकाको कृषि शाखाले बताएको छ । जिल्लाको अन्य पालिकाहरुमा पनि असिना पानी परेको छ । तर, जिरीमा भन्दा कम क्षति पुगेको छ ।