
हेटौँडा । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा बागमती प्रदेश सरकारले ३२ प्रतिशत बजेट खर्च गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना अर्थात चैत मसान्तसम्मको अवधिमा प्रदेश सरकारले ३२.५१ प्रतिशत बजेट खर्च गरेको हो । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो अवधिमा चालुतर्फ ४०.५१ र पूँजीगततर्फ २८.२४ प्रतिशत खर्च भएको छ ।
चालु आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोडको बजेट ल्याएको प्रदेश सरकारले ९ महिनामा २० अर्ब ९८ करोड १४ लाख बजेट मात्रै खर्च गरेको हो । चैत मसान्तसम्मको अवधिमा चालुतर्फ १० अर्ब ४९ करोड र पूँजीगततर्फ पनि १० अर्ब ४९ करोड बजेट खर्च भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
कुन मन्त्रालयको कति खर्च ?
विकास निर्माणका कार्य गर्ने मन्त्रालयहरुको बजेट खर्च पनि न्युन देखिएको छ । मन्त्रालयगत विवरणलाई हेर्दा भौतिक पूर्वाधार विकास मन्त्रालयले ९ महिनाको अवधिमा २९.८७ प्रतिशत खर्च गरेको छ । यस्तै, खानेपानी तथा उर्जा मन्त्रालयले ३६.३१ प्रतिशत बजेट खर्च गर्दा कृषी तथा पशुपन्छी मन्त्रालयले २१.२९, उद्योग वाणिज्य भूमी तथा प्रशासन मन्त्रालयले २६.६०, वन तथा वातावरण मन्त्रालयले ३२.९३ प्रतिशत बजेट खर्च गरेको छ ।
प्रदेशको आर्थिक मामिला मन्त्रालयको विवरण अनुसार यो अवधिमा सबैभन्दा बढि मुख्य न्यायाधिवक्ताको कार्यालयले ६३.४३ प्रतिशत बजेट खर्च गरेको छ भने संस्कृति तथा पर्यटन मन्त्रालयले सबैभन्दा कम १६.४३ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।
मन्त्रालयगत खर्च विवरणः