इरान सन् २०२६ को विश्वकप प्रतियोगीतामा सहभागी हुने निश्चित भएको छ ।
मध्यपूर्वमा जारी तनाव र युद्धको प्रभावबीच पनि इरानको सन् २०२६ को विश्वकप सहभागिता निश्चित रहेको फिफा अध्यक्ष जियानी इन्फान्टिनोले स्पष्ट पारेका छन् ।
पहिलोपटक ४८ टोली सहभागी हुने यस विश्वकप जुन ११ देखि सुरु हुँदैछ, जहाँ विश्वभरका टोलीहरूबीच प्रतिस्पर्धा हुने तयारी भइरहेको छ । संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले सह–आयोजना गर्ने यस विश्वकपमा इरानको सहभागिता फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण अन्योलमा परेको थियो ।
त्यसक्रममा इरानले आफ्ना खेलहरू अमेरिकाबाट सारेर मेक्सिकोमा गर्न आग्रहसमेत गरेको थियो, तर फिफाले प्रस्ताव अस्वीकार गरेको थियो । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले खेलकुद राजनीति भन्दा बाहिर हुनुपर्छ भनेपछि तोकिएकै समयमा विश्वकप हुने सम्भावना बलियो देखिएको हो ।










