images
images

उर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठले दिए ३२ बुँदे निर्देशन, अटेर गरे कारबाही

  • ३ बैशाख २०८३, बिहीबार १७:४९

भक्तपुर । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा तथा जलस्रोत क्षेत्रको संरचनात्मक सुधारका लागि ३२ बुँदे निर्देशन जारी गरेका छन् ।

मन्त्री श्रेष्ठले बिहीबार क्षेत्रगत सुधार, पारदर्शिता अभिवृद्धि र कार्यसम्पादनलाई नतिजामुखी बनाउन विस्तृत कार्ययोजना सार्वजनिक गर्दै सम्बन्धित निकायहरूलाई स्पष्ट समय सीमा सहित कार्यान्वयनका लागि निर्देशन दिएका हुन् ।

बहुआयामिक विषय

३२ बुँदे निर्देशनमा विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणसम्मका बहुआयामिक विषय समेटिएका छन् । सबै कार्ययोजनाहरू तोकिएको समय सीमाभित्र कार्यान्वयन गर्न सम्बन्धित निकायलाई स्पष्ट जिम्मेवारी तोकेको जनाउँदै मन्त्रालयले नियमित रूपमा सघन अनुगमन समेत हुने जनाएकाे छ ।

प्रतिवेदन पेश गर्न निर्देशन

मन्त्री श्रेष्ठले जारी दिएको निर्देशनमा विद्युत् क्षेत्र सुधारतर्फ, विद्युत् नियमन आयोगलाई ‘ओपन एक्सेस’ प्रणाली कार्यान्वयनका लागि ३० दिनभित्र आवश्यक ‘ह्विलिङ चार्ज’ निर्धारण गर्न भनिएको छ ।त्यस्तै, नेपाल विद्युत् प्राधिकरणलाई हालसम्मका सबै पीपीए (विद्युत् खरिद सम्झौता) विवादहरूको सूची र समाधानका विकल्पसहित प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

नीति ल्याइने

जलाशययुक्त आयोजनाहरूमा निजी क्षेत्रलाई आकर्षित गर्ने उद्देश्यले यस्ता आयोजनाको अनुमतिपत्रको अवधि ५० वर्ष कायम गर्ने गरी नीति ल्याइने भएको छ । विद्युत् नियमन आयोग, विद्युत् उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलाई कार्यसम्पादन, जिम्मेवारीमा रहेको दोहोरोपन र सुधारका आवश्यक पक्षहरू पहिचान गरी ३० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

यसैगरी विद्युत् विकास विभागलाई ६० दिनभित्र देशभरका सबै जलविद्युत् आयोजनाका सर्वेक्षण तथा निर्माण अनुमतिपत्रहरूको विस्तृत विवरण सार्वजनिक गर्न निर्देशन दिइएको छ । मन्त्री श्रेष्ठले निर्देशनलाई अटेर गरे कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।