दोलखा । दोलखाको ६ वटा स्थानीय तहमा गठबन्धनका साझा उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् । ९ वटा स्थानीय तहमध्ये ६ वटामा गठबन्धनले अग्रता बढाउँदै लगेको हो ।
भीमेश्वर नगरपालिका
भीमेश्वर नगरपालिकामा गठबन्धनका साझा उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धनको तर्फबाट नगरप्रमुखमा उम्मेदवार बनेका ईश्वरनारायण मानन्धरले २१ सय ६० मत पाएका छन् भने एमालेका उम्मेदवार हरिवंश चौंलागाईले १५ सय ३ मत पाएका छन् । नगरउपप्रमुखतर्फ अहिले नेकपा एमालेकी उम्मेदवार कमला बस्नेत अगाडि छिन् । बस्नेतले १५ सय ९२ मत पाएकी छिन् भने गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा एकिकृत समाजवादीकी उम्मेदवार संगिता तमाङले १५ सय ७१ मत पाएकी छिन् । उनीहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
जिरी नगरपालिका
जिरी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार लाक्पा शेर्पा अग्रस्थानमा छन् भने उनलाई एमालेका उम्मेदवार मित्रबहादुर जिरेलले पछ्याइरहेका छन् । शेर्पाले १५ सय ९७ मत प्राप्त गर्दा जिरेलले १४ सय ३१ र माओवादी केन्द्रका उम्मेदवार गेल्वु शेर्पाले ९ सय मत पाएका छन् । नगर उपप्रमुखतर्फ एमालेकी कृष्णमाया बुढाथोकी खड्काले १७ सय ९७ मत पाएकी छिन् भने माओवादी केन्द्रका उम्मेदवार तेज बहादुर तमाङले १२ सय ७६ मत पाएका छन् ।
कालिञ्चोक गाउँपालिका
दोलखाको कालिञ्चोक गाउँपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । गठबन्धनका उम्मेदवार अर्जुनप्रसाद शिवाकोटीले १५ सय ८८ मतका साथ अग्रता कायम राखेका हुन् । उनलाई नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । एमालेका गणेश शिवाकोटीले १२ सय ६२ मत पाएका छन् । उपाध्यक्षतर्फ पनि गठबन्धनका उम्मेदवार कुलबहादुर बुढाथोकीले मतान्तर बढाउँदै लगेका छन् । बुढाथोकीले १६ सय ८६ मत प्राप्त गरेका छन् भने एमालेकी कविता थामीले १३ सय ९९ मत प्राप्त गरेकी छिन् ।
गौरीशंकर गाउँपालिका
गौरीशंकर गाउँपालिकामा पनि गठबन्धनका साझा उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्र उम्मेदवार विश्वास कार्कीले १२ सय ६१ मत पाएका छन् भने एमालेका जंगबहादुर गुरुङले ६ सय ४८ मत प्राप्त गरेका छन् । उनीहरुबीच दोब्बरको मतान्तर छ । गौरीशंकरको उपाध्यक्षतर्फ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका श्याम सुन्दर तमाङले ९ सय २० र एमालेकी मुना शिवाकोटीले ७ सय ७७ मत पाएकी छिन् ।
तामाकोशी गाउँपालिका
तामाकोशी गाउँपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका उम्मेदवार प्रोण प्रताव केसीले अग्रता बढाउँदै लगेका छन् । केसीले २१ सय ६५ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार अभिषेक सुवेदीले १६ सय ३६ मत पाएका छन् । उपाध्यक्षतर्फ गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सुवेदीले २१ सय २५ मत र एमालेकी उम्मेदवार अम्बिका पोखरेलले १६ सय ४५ मत पाएकी छिन् ।
बैतेश्वर गाउँपालिका
बैतेश्वरमा नेकपा एमालेका उम्मेदवार माधव प्रसाद घिमिरेले १७ सय २३ मत पाएका छन् भने नेपाली कांग्रेसका छवि लामाले १२ सय ७२ तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण खड्काले ११ सय १० मत पाएका छन् । उपाध्यक्षतर्फ कांग्रेसकी कल्पना उप्रेतिले ६ सय ८५, छविलाल तमाङले ५ सय ५५ र कल्याण दहालले ५ सय २५ मत प्राप्त गरेका छन् ।
मेलुङ गाउँपालिका
मेलुङ गाउँपालिकामा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका हिरा थोकरले १४ सय १६ मत पाएका छन् भने गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका रविनद्र कुमार कार्कीले ९ सय ५१ मत पाएका छन् । उपाध्यक्षतर्फ एमालेकी उम्मेदवार गायत्री आचार्यले १३ सय ८३ नेपाली कांग्रेसका भक्त बहादुर तमाङले ९ सय २६ मत पाएका छन् ।
विगु गाउँपालिका
विगु गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका संजिव ओलीले अग्रता कायम राखेका छन् । उनले १ हजार ८४ मत प्राप्त गर्दा नेकपा एमालेका अचुतम केसीले ८ सय ४ मत पाएका छन् । उपाध्यक्षतर्फ आङनिमा शेर्पाले १ हजार २० र देविका थामीले ७ सय २८ मत पाएकी छिन् ।
शैलुङ गाउँपालिका
शैलुङ गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका रिमालवावु श्रेष्ठले अग्रता बढाउँदै लगेका छन् । श्रेष्ठले १५ सय ३२ मत प्राप्त गर्दा एमालेका धन बहादुर तमाङले ११ सय ४४ मत पाएका छन् । उपाध्यक्षतर्फ नेपाली कांग्रेसका दावा दोर्जे लामाले १३ सय ५१ र एमालेकी पार्वती कार्कीले १२ सय २७ मत पाएकी छिन् ।