images
images

जिरीको वडामा माओवादीको अग्रता, ३ वडामा प्यानलसहितको जित

  • २ जेष्ठ २०७९, सोमबार १७:२४

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा वडामा नेकपा माओवादी केन्द्रको अग्रता कायमै रहेको छ ।

जिरीमा ७ नम्बर वडासम्मको मतगणना सकिँदा वडा तहमा माओवादी केन्द्रको अग्रता कायमै देखिएको हो । जिरीमा ७ वटा वडाको परिणाम आउँदा नेकपा माओवादी केन्द्रले वडा नम्बर २, ३ र ७ मा प्यानल सहित जित हात पारेको छ । भर्खरै सार्वजनिक भएको नतिजा अनुसार जिरी ७ मा माओवादीका शान्त नेपाली वडाध्यक्षमा निर्वाचित भएका छन् । यसअघि वडाध्यक्षमा वडा नम्बर २ मा माओवादीका ङिमपल्दे शेर्पा र वडा ३ मा खेटराज घिमिरे विजयी भएका थिए । माओवादीले ७ वटा वडाको मत गणना हुँदा सम्म उम्मेदवारी दर्ता गरेको वडा १ मा मात्रै जित निकाल्न सकेन । गठबन्धन गर्ने क्रममा उम्मेदवारी दर्ता गर्दा माओवादीले वडा नम्बर ४, ५, ६ र ७ मा उम्मेदवार उठाएको थिएन । यसैगरी, हालसम्म नेपाली काँग्रेसले १ र ५ गरी २ वटा वडामा प्यानलसहित जितेको छ भने एमाले र एकीकृत समाजवादीले एक/एक वटा वडा जितेको छ । एमालेले जिरी ४ मा प्यानलसहितको जित निकाल्दा एकीकृत समाजवादीले वडा नम्बर ६ मा प्यानलसहित जितेको छ ।

नगर प्रमुख पदमा कांग्रेसको अग्रता

यसैबीच, नगर प्रमुख पदमा भने नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । हालसम्म कांग्रेसका उम्मेदवार लाक्पा शेर्पाले २१ सय ८० मत प्राप्त गरेका छन् भने एमालेका मित्र जिरेलले थोरै मतान्तरले पछ्याइरहेका छन् । जिरेलले हालसम्म २१ सय ७४ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका गेल्बु शेर्पाले भने १३ सय ६८ मत मात्रै पाएका छन् ।

तर, उपप्रमुखमा भने एमालेले अग्रता लिएको छ । एमालेकी कृष्णमाया बुढाथोकी खड्काले २५ सय १९ मत प्राप्त गर्दा माओवादी केन्द्रका तेज बहादुर तामाङले १८ सय ४४ मत ल्याएका छन् । उपप्रमुखका स्वतन्त्र उम्मेदवार आङ पासाङ शेर्पाले भने ५७ मत आफ्नो पक्षमा पारेका छन् ।