images
images

सर्वोच्चबाट पनि रेशम चौधरीलाई जन्मकैदको फैसला

  • २ जेष्ठ २०८०, मंगलवार १७:३६

काठमाडौं । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्व डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिनुभयो ।अदालतले टिकापुर घटनामा मुछिएका सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ । यस्तै लक्ष्मण थारुको हकमा ५ वर्षको कैद सजाय घटाएर ३ वर्ष कायम गरिएको छ । यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।

जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउन दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा बहस भएको थियो । प्रतिवादी चौधरी लगायत १४ जना प्रतिवादीको तर्फबाट सफाइ पाउनुपर्ने भन्दै बहस भएको थियो । प्रतिवादीतर्फका अधिवक्ताहरुले घटना राजनीतिक भएको कारण राजनीतिक तबरबाटै हल गर्नुपर्ने र घटनामा संलग्न नभएका व्यक्तिहरुलाई मुछिएको भन्दै उनीहरुलाई सफाइ दिनुपर्ने माग गरिएको थियो । जवाफी बहसमा सरकारी वकिलका तर्फबाट घटनाको योजनाकार रेशमलाल चौधरी र लक्ष्मण थारु नै रहेको जिकिर गरिएको थियो ।

यस्तै अन्य व्यक्तिहरुको संलग्नतामा घटना गराइएको भन्दै उनीहरुलाई हदैसम्मको सजाय हुनुपर्ने र कैलाली जिल्ला अदालत तथा उच्च अदालत दिपायलको फैसला सही भएको बहस गरिएको थियो ।टिकापुरमा भएको थरुहट आन्दोलनको क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।