images
images

दोलखामा ६ हजार बढी बालबालिकालाई पोलियो बिरुद्धको खोप दिईने

  • ३ जेष्ठ २०८१, बिहीबार १३:२०

दोलखा । दोलखाका ६ हजार बढी बालबालिकालाई आई.पि.भी खोप लगाईने भएको छ ।

जनस्वास्थ्य कार्यालय दोलखाका अनुसार यही जेठ १३ गतेदेखि २२ गतेसम्म दोलखाका ६ हजार ३६९ बालबालिकालाई पोलियो रोग बिरुद्धको आई.पि.भी खोप लगाईने लक्ष्य लिईएको हो । जसअनुसार जिल्लाको भीमेश्वर नगरपालिकामा १९ सय ४७ बालवालिकालाई खोप लगाईने लक्ष्य लिईएको छ । यस्तै, कालिञ्चोक गाउँपालिकामा ९ सय ३६, मेलुङमा ४१०, शैलुङमा ४६२, तामाकोशीमा ४०२, बैतेश्वरमा ६४२, गौरीशंकरमा ४७७, बिगुमा ६४६ र जिरीमा ४४७ बालबालिकालाई खोप लगाईने लक्ष्य लिईएको जनस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । दोलखामा खोप सञ्चालनका लागि ३ सय १० वटा खोप केन्द्र र ३ सय १२ जना स्वास्थ्यकर्मि खटिने कार्यालयका सूचना अधिकारी एबम् जिल्ला खोप कार्यक्रमका फोकल पर्सन पवन भाटले जानकारी दिनुभयो । उहाँका अनुसार खोप अभियानमा ५५० जना स्वयमसेवक खटिनेछन् ।

देशव्यापी रुपमा सञ्चालन हुने यस अभियानको लागि निर्धारण गरिएको उमेर समूहका अधिकांश बालवालिकाहरु बिद्यालयमा अध्ययन गर्ने भएकाले  बिद्यालयमा नै गएर खोप लगाईनेछ । यसको लागि २ सय ४५ विद्यालयमा खोप केन्द्र सञ्चालन गरिनेछ । बिद्यालय नजाने तथा बाँकी रहेका बालबालिकालाई पायक पर्ने स्थानमा बाह्य खोप केन्द्र सञ्चालन गरेर र अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप प्रदान गरिन्छ । जिल्लाका ६५ स्वास्थ्य चौकीबाट खोप लगाईने जनस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

२०७३ साल बैशाखदेखि २०७५ साल असोज महिनाभित्र पोलियो रोग बिरुद्धको आई.पि.भी खोप अभाव हुँदा सो समयमा जन्म लिएका बालवालिकालाई खोप लगाउन छुटेकाले सोही खोप छुट बालवालिकालाई लगाउन लागिएको हो ।