images
images

मैनापोखरीमा सुरु भयो स्वर्गिय पशुपति चौलागाईँको स्मृतिमा पुरुष भलिबल प्रतियोगिता

  • ३ जेष्ठ २०८१, बिहीबार १५:४५

दोलखा । प्रथम दोलखा जिल्लास्तरीय अन्तरपालिका पशुपति चौँलागाई स्मृति पुरुष भलिबल प्रतियोगिता २०८१ आजबाट सुरु भएको छ ।

पशुपति चौँलागाई फाउण्डेशनको आयोजनामा आजबाट सुरु भएको प्रतियोगिताको नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष, बागमती प्रदेशका पूर्ब मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नुभयो । बैतेश्वर गाउँपालिका ५ स्थित मैनापोखरी स्थित देउराली खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा बैतेश्वर सि र बि बीच प्रतिष्पर्धा हुँदैछ । पशुपति फाउण्डेशनका अध्यक्ष सुमन चौलागाईँको अध्यक्षतामा सम्पन्न खेलको उद्घाटन कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य शिवप्रसाद भण्डारी, राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल, जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानी, जिरी नगरपालिकाका नगर प्रमुख मित्र जिरेलले स्वर्गिय चौलागाईलाई स्मरण गर्दै उहाँको योगदानको चर्चा गरेका थिए ।

भलिवल प्रतियोगिताको प्रथम पुरस्कार राशी नगद १ लाख ५० हजार, द्धित्तीय पुरस्कार राशी एक लाख र तृतीय पुरस्कार ५० हजार नगद सहित शील्ड, मेडल र प्रमाणपत्र रहेको खेल व्यवस्थापन समितिका संयोजक रविन दाहालले जानकारी दिनुभयो । यसका साथै उत्कृष्ट खेलाडीहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । फाउण्डेशनको आयोजना र काब्रे युवा सञ्जालको व्यवस्थापनमा आजबाट सुरु भएको खेल पाँच दिनसम्म चल्नेछ ।

कोरोना संक्रमणका कारण निधन भएका दोलखाको वैतेस्वर गाउँपालिका वडा नम्बर ४ काब्रेका स्वर्गीय सांसद पशुपति चौलागाईको स्मृतिमा उनकै गृहगाउँमा पहिलो पटक खेलकुद प्रतियोगिता आयोजना भएको हो ।