
मेलुङ (दोलखा) । दोलखाको मेलुङ गाउँपालिकाको पक्की प्रशासनिक भवनको निर्माण कार्य सुरु भएको छ ।
मेलुङ गाउँपालिका वडा नम्बर ४ स्थित मुडे–मेलुङ सडक अन्तर्गत पर्ने पोखरी नजिकै १२ करोड ५३ लाखको लागतमा सुविधा सम्पन्न प्रशासनिक भवन बन्न सुरु भएको हो । अहिले धमाधम जग खन्ने काम भइरहेको छ । अबको १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी करिब ४० रोपनी जग्गामा भवन निर्माण थालिएको पालिका अध्यक्ष हिराकुमार थोकरले जानकारी दिनुभयो । प्रशासनिक भवन निर्माणका लागि गत बैशाख ३ गते पालिकासँग सिमपानी जेभी, सनस्टार र दिव्यश्वरी जेभीले सम्झौता गरेको थियो । त्यसपछि धमाधम काम भइरहेको पालिकाले जनाएको छ । १२ करोड ५३ लाखमा बन्ने लिफ्ट सहितको प्रशासनिक भवन क्यान्टिन सहित साँढे ३ तल्ला २० कोठाको हुनेछ । पालिकाले १० लाखमा डिपिआर तयार गरी सम्झौतापछि भवन निर्माणको काम सुरु भएको इन्जिनियर सुमन नेपालले जानकारी दिनुभयो ।
प्रशासनिक भवन निर्माण र फिनिसिङको लागि १८ महिनादेखि २ वर्षसम्म लाग्ने भएकोले पालिकाले सँगै एउटा १६ लाख ९१ हजारमा प्रिफ्याव भवन बनाइरहेको छ । हालसम्म भाडाको घरबाट सेवा दिँदै आएको पालिकाले अब छिट्टै नयाँ भवनबाट सेवा दिने तयारी गरेको छ । सम्भवतः आगामी वर्षको बजेट समेत सोही भवनबाट ल्याउने तयारी रहेको पालिका उपाध्यक्ष गायत्री आचार्यले बताउनुभयो ।
प्रिफ्याव भवनबाट सेवा
ढिलामा साउन महिनादेखि प्रिफ्याव भवनबाट जनतालाई सेवा दिन सुरु गर्ने पालिकाले जनाएको छ । हाल भेड्पुको जोरधारा, पोखरी र बुद्धचोकगरी तीन स्थानबाट पालिकाको सेवा प्रवाह हुँदै आएको छ । एकै छानामुनीबाट सेवा दिने व्यवस्था नभएपछि स्थानीयले फरक–फरक सेवा लिनका लागि फरक–फरक स्थान धाउनुपर्ने थियो । अब प्रिफ्याव भवन बनेपछि जनताले सबै सेवा एउटै छानामुनीबाट पाउनेछन् ।
स्थानीय सरकार गठन भएदेखि मेलुङ गाउँपालिकाले मासिक ४० हजार भन्दा बढीको दरले भाडा तिरेर पालिका सञ्चालन गर्दै आएको थियो । मेलुङ गाउँपालिकाको भवन निर्माणका लागि पोखरीका स्थानीय भिम बहादुर थोकरले करिब ४० रोपनी जग्गा दान गरेका छन् ।