काठमाण्डौं । भारत भ्रमणमा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ ।
तीन दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका प्रचण्डले मोदीसँग भेटवार्ता गर्ने निश्चित भएको हो । भोलि विहान ८ः३० बजे प्रचण्ड र मोदीबीच प्रधानमन्त्री निवासमा ब्रेकफास्टसँगै भेटवार्ता गर्ने कार्यक्रम तय भएको भारतीय विदेश मन्त्रालय स्रोतले बताएको छ । मोदीसँगको भेटपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भोलि नै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को मुख्यालय भ्रमण गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड भोलि भाजापाको मुख्यालय जाने नेपालका दोस्रो शीर्ष नेता बन्नुहुनेछ । यसअघि देउवा भाजपा मुख्यालय पुग्ने पहिलो शीर्ष नेपाली नेता बन्नु भएको थियो । उहाँले आइतबार भाजपा अध्यक्ष जेपी नड्डासँग विशेष भेटवार्ता गर्ने कार्यक्रम छ । अध्यक्ष प्रचण्डले भाजपाका अध्यक्ष नड्डासहित अन्य नेताहरुसँग छुट्टा–छुट्टै भेटवार्ता गर्ने र भाजपाका अध्यक्षद्धारा आयोजित दिवाभोजमा सहभागी हुने कार्यतालिका तय भएको छ ।
भारत भ्रमणमा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । मोदीसँगको भेटपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भोलि भाजपाको मुख्यालय भ्रमण गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड भोलि भाजापाको मुख्यालय जाने नेपालका दोस्रो शीर्ष नेता बन्नुहुनेछ ।
यस्तै, अध्यक्ष प्रचण्डले आज विहान भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटघाट गरेपछि भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । आज नै प्रचण्ड फाउण्डेशन फर पब्लिक अवेरनेश एण्ड पोलिसी संस्थाले आयोजना गर्ने कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागी हुने कार्यक्रम रहेको छ । साथै उहाँ आज नै भारतीय विदेश मन्त्री जयशंकरले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने बताइएको छ ।
भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा भ्रमणका क्रममा हिजो अपरान्ह दिल्ली पुगेका प्रचण्डलाई हिजो गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो । प्रचण्डलाई नेपाली राजदुत डा. शंकरप्रसाद शर्मा, उपनियोग प्रमुख रामप्रसाद सुवेदी, भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाल, भारतीय विदेश मन्त्रालयका नेपाल–भुटान डेस्कका सहसचिव अनुरागत श्रीवास्तवले स्वागत गरेका थिए । प्रचण्डलाई हिजो विशेष सुरक्षा सतर्कता सहित दिल्लीको होटल ताजमा राखिएको थियो । उहाँले हिजो भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गर्नुभएको थियो । विदेश सचिव क्वात्रा नेपालका लागि पूर्व भारतीय राजदूत हुन् । तिन दिने भारत भ्रमणपछि अध्यक्ष प्रचण्ड भोलि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।










