images
images

कक्षा १२ को नतिजा साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

  • १ श्रावण २०८१, मंगलवार १८:२९

काठमाडौँ । कक्षा १२ को परीक्षाको नतिजा साउन तेस्रो साताभित्र सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको हो । उत्तरपुस्तिका परीक्षणको काम सकेर नतिजा प्रकाशित गर्ने तयारी भईरहेकाले साउन तेस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले जानकारी दिनुभयो । देशभरबाट उत्तरपुस्तिका परीक्षण भएर आईसकेकाले त्यसलाई रुजु र ईन्ट्री गर्दै नतिजा तयार पार्ने काम भईरहेको बोर्डले जनाएको छ । बैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा देशभरबाट ४ लाख ९१ हजार ४ सय ९७ जना विद्यार्थी सहभागि भएका थिए । कक्षा १२ को परीक्षामा देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी सहभागि भएका थिए । ७७ वटै जिल्ला र जापानको एक समेत गरि १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

कक्षा १२ को नतिजा पनि एसईईको जस्तै लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार प्रकाशन हुनेछ । कक्षा १२ मा २०७८ देखि नै सोही निर्देशिका अनुसार नतिजा सार्वजनिक हुँदै आएको छ ।