images
images

भीमेश्वर नगरपालिकाको पिपलबोटमा जेष्ठ नागरिक आरोग्य केन्द्र

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा ज्येष्ठ नागरिक आरोग्य भवन्र सञ्चालनमा आएको छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित पिपलबोटमा जेष्ठ नागरिक आरोग्य केन्द्र सञ्चालनमा आएको हो । नगरपालिकाको आन्तरिक बजेटबाट २०७६/७७ मा निर्माण सुरु भएको जेष्ठ नागरिक आरोग्य केन्द्र सम्पन्न भएर २०७८/७९ को बैशाखमा पुर्ण रुपमा सञ्चालनमा आएको भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले जानकारी दिनुभयो । नगरपालिकाको ६६ लाख लागतमा निर्माण सम्पन्न भएको सो भवन ३ तलाको रहेको छ । भवनको तल्लो तलामा ज्येष्ठ नागरिकहरुलाई मनोरञ्जनका लागि भेला हुने स्थान बनाइएको छ भने दोस्रो तलामा स्थानिय समुहका लागि बैठक बस्ने स्थान बनाइएको छ । यस्तै, तेस्रो तलामा भने क्यानटिन सञ्चालन गरिने भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेत राउतले जानकारी दिनुभयो ।

उहाँका अनुसार ज्येष्ठ नागरिक आरोग्य केन्द्रमा वृद्धावृद्धका लागि टेलिभिजन, बाद्यबाद्यकका सामान, पौराणिक किताब, बस्नका लागि उचित व्यवस्था गरिएको छ । जेष्ठ नागरिकहरुलाई दिनको समयमा उपस्थित गराएर भलाकुसारी गर्ने वातावरण बनाउने, भजन गाउने, पौराणीक किताव उपलब्ध गराउने लगायतको व्यवस्थापन गरिएको छ । सो केन्द्रमा ज्येष्ठ नागरिकलाई हेरचाह गर्नका लागि एक जना कर्मचारी राख्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

दोलखामा पछिल्लो समय ज्येष्ठ नागरिकलाई समय बिताउन र मनोरञ्जनका विभिन्न केन्द्रहरु सञ्चालनमा आउन थालेका छन् । यसअघि तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुस्थित डाँडागाउँमा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आएको थियो । बृद्धाअवस्थामा जेष्ठ नागरिकहरुको पालनपोषणमा कमि आउन थालेपछि दोलखामा बृद्धाहरुका लागि विभिन्न केन्द्रहरु निर्माण हुन थालेका हुन् ।