images
images

जिरीमा सर्पको बिगबिगी, एकै वर्ष २३ जना अस्पताल भर्ना, दुई जनाले गुमाए ज्यान

जिरी (दोलखा) । हिमाली जिल्ला दोलखामा अवस्थित जिरी नगरपालिका समुन्द्री सतहबाट १६४९ देखि ५३४१ मिटर सम्मको उचाईमा अवस्थित छ । यो ठाउँमा सधैं सितल र स्वच्च हावापानी हुन्छ ।

सगरमाथाको प्रवेशद्धारको रुपमा रहेको जिरीको मौसम चिसो नै रहन्छ । तपाईका जिल्लाहरुमा त गर्मी मौसममा धेरै सर्पहरु भेटिनु तथा सर्पदंश हुनु स्वभाविक हो । अहिले जिरीमै सर्पले मानव जिवनमा त्रास पैदा गरेको छ ।

खासगरी जलवायु परिवर्तका कारण पनि विशालु खालका सर्पहरु पहाडी भूभागमा समेत देखिन थालेको विज्ञहरु बताउँछन् । जिरी अस्पतालका डा. राजु गुरुङले पनि विगतको तुलनामा सर्पले डसेको केसहरु पछिल्लो समय बढीनै आउने गरेको बताउनुभयो । पछिल्लो वर्ष मात्रै २३ जना सर्पले डसेका बिरामी उपचारका लागि जिरी अस्पताल पुगे । अघिल्लो आर्थिक वर्षको जेठदेखि गत असारसम्म २३ जना शर्पदंशका विरामी अस्पताल भर्ना भएको अस्पतालको तथ्यांकले देखायो ।

विशेषगरी जेठदेखि भदौ महिनामा शर्पदंशको जोखिम रहन्छ । विगतको तुलनामा पछिल्लो समय झनै जोखिम बढेको देखिन्छ । चालु आर्थिक वर्ष सुरु भएदेखि यही साउनमा जिरीमा एक जनालाई सर्पले डसेको घटना सार्वजनिक भएको छ ।

उक्त घटना सहित अघिल्लो वर्षको जेठदेखि हालसम्म १४ जना पुरुष र १० जना महिला गरी २४ जना सर्पले टोकेका बिरामी जिरी अस्पताल उपचारका लागि आएको अस्पतालका इमर्जेशी इन्चार्ज विष्णु जिरेल बताउनुहुन्छ । उहाँका अनुसार जिरी अस्पतालले सामान्य उपचारपछि थप उपचारका लागि सर्पदंशका बिरामीहरुलाई काठमाडौंको टेकु अस्पतालमा पठाउने गरिएको छ ।

अस्पतालले रिफर गरेकामध्ये गत जेठ र असारमा रिफर भएका दुई बिरामीको टेकु अस्पतालमा मृत्यु भएको खबर प्राप्त भएको छ । वडा नम्बर १ का एक जना पुरुष र वडा नम्बर ७ का एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यही साउनमा सर्पले टोकेर बिरामी भएका जिरी–२ का एक पुरुषलाई टेकु अस्पताल रिफर गरिएको छ । साउन २१ गते सर्पले डसेर जिरी अस्पताल आएका बिरामी जिरी २ का ३७ वर्षीय आङछिरिङ शेर्पालाई २२ गते काठमाडौं पठाइएको थियो । सर्पले डसेर उपचारका लागि जिरी अस्पताल जानेमा धेरै जिरी नगरपालिकाकै बिरामी छन् । तर, जिरी अस्पतालमा रामेछापको गोकुलगंगा गाउँपालिका र उमाकुण्डका सर्पदंशका बिरामी पनि आउने गरेका छन् ।

सर्पले डसेपछि परम्परागत उपचारकर्ताको पछि लागेर समय बर्बाद गर्नुहुँदैन । सर्पले डसिहालेमा स्वास्थ्य संस्थामा तत्काल पुर्याउनु उपयुक्त हुने चिकित्सहरु बताउँछन् । सर्पले डसिहालेमा घरेलु उपचार विधि नरहेको भन्दै काट्ने, चुस्ने तथा बान्ने काम नगर्न समेत डा. गुरुङले सुझाव दिनुभएको छ ।

नेपालमा सबैभन्दा सामान्यतया कोब्रा र क्रेट प्रजातिका सर्पको टोकाइबाट न्युरोपरालाइसिस हुने र मानिसको मुत्यु हुने गर्दछ । समान्यतया सर्पको रंग, पाटा र बाहिरी बनावटी कोणहरु हेरेर कति विषालु सर्प हो भनेर छुट्टाउन सकिन्छ ।