दोलखा । बाढी र पहिरोका कारण अवरुद्ध दोलखा–सिंगटी सडकको झमार्सी सडक खण्ड अझै सुचारु हुन सकेको छैन ।
साउन १२ गते राती को बाढी र पहिरोका कारण अवरुद्ध भएको झमार्सी सडक खण्ड तीन साता बितिसक्दा पनि सुचारु हुन नसकेको हो । सडक अवरुद्ध भएपछि दोलखाको उत्तरी क्षेत्रका बासिन्दालाई यात्रा गर्न कठिन भएको छ भने दैनिक उपभोग्य सामान र निर्माण सामाग्रि समेत ढुवानी गर्न समस्या भएको हो । सडक अवरुद्ध भएका कारण यातायातका साधन र एम्वुलेन्स समेत चल्न नसक्दा जिल्लाको उत्तरी क्षेत्रका बिरामीलाई अस्पताल लैजान समेत समस्या भएको छ ।
दोलखा सदरमुकाम चरिकोट र जिल्लाका उत्तरी व्यापारिक बजार सिंगटीलाई जोड्ने सडक करिब तीन साता बितिसक्दा पनि सुचारु हुन नसक्दा दोलखाको उत्तरी क्षेत्रको जनजीवन प्रभावित बनेको छ । झमार्सी खोलामा आएको बाढीले सडकको ग्याबिन पर्खाल बगाएको र अधिकाँश सडक भासिँदा आवातजावत ठप्प भएको हो । दोलखा–सिंगटी खण्ड सडक डिभिजन कार्यालय चरिकोटले हेर्दै आएको छ ।
सडक डिभिजन कार्यालय चरिकोटका ईन्जिनियर भरत श्रेष्ठले भासिएको सडक मर्मत सम्हारका लागि साँढे २० लाखको लागतमा ठेक्का आह्वान गरी निर्माणको काम भैरहेको जानकारी दिनुभयो । ईन्जिनियर श्रेष्ठले हाल करिब ५० प्रतिशत काम सम्पन्न भैसकेकाले भदौको पहिलो साताभित्र सडक निर्माण कार्य सम्पन्न गरी यातायात सूचारु हुने बताउनुभयो ।
सडक निर्माणको जिम्मा पाएको आधुनिक कन्सट्रक्सनका मेनेजिङ डाईरेक्टर साजन खड्काले सडकको प्रोटेक्सनका लागि ग्याविन वाल लगाउने काम भैरहेको बताउनुभयो । भदौ ६ गतेबाट सडक सुचारु गराउने गरी धमाधम काम भैरहेको खड्काको भनाई छ ।