जिरी(दोलखा) । कालिञ्चोक दर्शन लिमिटेड (केडीएल) को आम्दानी र खुद नाफा बढेको छ ।
कम्पनीको पछिल्लो विवरण अनुसार आम्दानी र खुद नाफा दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ८ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ दशमलव २२ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको आम्दानी ६ करोड ९३ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने ७ दशमलव ७५ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको कालिञ्चोक दर्शनले गत आर्थिक वर्ष २ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीको वित्तीय खर्च बढेका कारण खुद नाफा पनि बढेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २२ दशमलव ३२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १० दशमलव ३८ प्रतिशत बढेको छ । यस्तै, कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा २१ दशमलव ७३ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३२ पैसा बढेर ४ रुपैयाँ ४७ पैसा पुगेको छ ।
सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ७५ पैसा रहेको छ । ५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७७ लाख ७३ हजार रुपैयाँ मात्र सञ्चित छ ।
अहिले कम्पनीको सेयर बजारमा प्रतिकित्ता १२ सय ५५ रुपैंयामा कारोबार भइरहेको छ । सेयर मार्केमा बजार बढिरहेको अवस्थामा कालिञ्चोक दर्शन लिमिटेडको पनि सेयर मूल्य बढिरहेको छ । कालिञ्चोक दर्शन लिमिटेडले दोलखाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा केबलकार सञ्चालन गरिरहेको छ ।