सोलुखुम्बु । सोलुखुम्बुको थामेमा प्रहरी टोली परिचालन गरिएको छ ।
जिल्लाको खुम्बु पासङल्हामु गाउँपालिका–५ मा हिमपहिरो गएको आशंकामा प्रहरीलाई घटनास्थल पठाइएको हो । अहिलेसम्म क्षतिको विवरण प्राप्त भएको छैन । ४० घरको बस्तीमा बाढी पसेको पाइएको छ । केही समयपछि प्रहरी पुगेर क्षतिको अवस्थाबारे जानकारी आउने सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक द्धारिका प्रसाद घिमिरेले बताउनुभयो । दुधकोशी नदीमा भिषण बाढी आइरहेको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार थामे गाउँमा बाढीले तीन घर बगाएको छ भने पाँच वटा घर र एउटा होस्टल जोखिममा छ । दुधकोशी नदी बढेर लुक्लाको फेदसम्म पुगेको स्थानीयले बताएका छन् ।
हिमबाढीले दुधकोशी तटीय क्षेत्रका नागरिकहरूलाई समेत प्रभाव पार्ने बुझिएको छ । आसपासका क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।