सोलुखुम्बु । सोलुखुम्बुको थामेखोलामा आएको बाढीमा फसेका ७ सहित बाढी प्रभावित १०० जनाको उद्धार गरिएको छ भने एक जना सम्पर्कविहिन भएका छन् ।
नेपाली सेनाको टोलीले पासाङल्हामू गाउँपालिका–५ मा पर्ने थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको सकुशल उद्धार गर्नुको साथै सय जना भन्दा बढी प्रभावितको उद्धार गरेको हो । बाढी आएको क्षेत्रमा एक जना सम्पर्क विहिन रहेको सोलुखुम्बुका प्रहरी जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो । बाढीको कारण विद्यालय र क्लिनिक सहित १४ वटा घर बाढीले बगाएको छ । अझै ७ घर उच्च जोखिममा रहेका छन् ।
अहिले थामे खोलामा आएको बाढी घटेको छ । दिउँसोको भन्दा बाढी घटेको प्रहरीले जनाएको छ । थामे खोला घटेपनि भोटेकोशीमा आएको बाढीका कारण सुनकोसीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेका कारण तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ ।