images
images

भन्सार नतिरी अवैध रूपमा ल्याइएका मोबाइल सेट आजदेखि नचल्ने

  • ३१ भाद्र २०७९, शुक्रबार ०९:१९

भन्सार नतिरी अवैध रूपमा ल्याइएका मोबाइल सेट आजदेखि नचल्ने भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरी अवैध बाटोबाट भित्रिएका मोबाइलमा दूरसञ्चार सेवा प्रदायकको सेवा प्रयोग गर्न नमिल्ने बनाएको हो । हिजोसम्म नेपालमा प्रयोग भइरहेका र विदेशबाट ल्याइएका मोबाइल भने स्वतः दर्ता भएको र त्यस्ता मोबाइल प्रयोगमा कुनै अवरोध नहुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले हिजो नै एमडीएमएस प्रणालीमा मोबाइल दर्ता भएको सन्देश धेरैजसो प्रयोगकर्तालाई पठाइसकेको छ । एसएमएस प्राप्त नभए पनि यसअघि चालू अवस्थामा रहेका मोबाइल प्रणालीमा स्वतः दर्ता भएको प्राधिकरणले जनाएको छ ।

यसैबीच, नेपाल टेलिकमले आजदेखि निःशुल्क ई–सिम वितरण गर्ने भएको छ । सुन्धारास्थित दूरसञ्चार कार्यालयको काउण्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क एम्बेडेड सिम (ई–सिम) वितरण गर्न लागिएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन् ।