images
images

दोलखामा एक वर्षमा ६० जना टिबी रोगी भेटियो

  • ३१ भाद्र २०७९, शुक्रबार १४:४६

जिरी (दोलखा) । दोलखामा क्षयरोग (टिबी)का बिरामी बढ्न थालेका छन् ।

देशभरको विभिन्न जिल्लामा क्षयरोगका बिरामी बढिरहेका बेला दोलखामा पनि वर्षेनी धेरै मानिसमा क्षयरोग देखिने गरेको हो । गत वर्ष जिल्लामा ६० जना क्षयरोगका बिरामी भेटिएका छन् । गत आर्थिक वर्ष जिल्लाको ९ वटै स्थानीय तहमा क्षयरोग (टिबी) का बिरामी देखिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । जसअनुसार सबै भन्दा बढी शैलुङ गाउँपालिकाका १९ जनामा क्षयरोग भएको पाइएको छ । यसैगरी, भिमेश्वर नगरपालिकामा १० जना, जिरी नगरपालिकामा ८ जना, तामाकोशी र गौरीशंकर गाउँपालिकामा ६/६ जना, मेलुङ गाउँपालिकामा ५ जना, कालिञ्चोक गाउँपालिकामा ४ जना र बैतेश्वर तथा विगु गाउँपालिकामा १/१ जनामा क्षयरोग देखिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका फोकल पर्सन श्रीभद्र शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्षयरोग देखिनेमा युवायुवती बढी रहेका छन् । बालबालिका र ज्येष्ठ नागरिकहरुमा पनि क्षयरोग देखिने गरेको स्वास्थ्य कार्यालय कार्यालयले जनाएको छ । यो वर्ष पनि दोलखामा क्षयरोगका बिरामी भेटिएका छन् । तर, हालसम्म सो रोग कति जनामा पुष्टि भयो भन्नेबारे यकिन तथ्याक छैन । लगातार ३ सातासम्म खोकी लाग्नु, खोक्दा थुकमा रगत आउनु, ज्वरो आउनु, भोक नलाग्नु, छातीमा दुख्नु, थकानको अनुभव हुने यसका लक्षण हुन् ।

क्षयरोगबाट संक्रमण भएको रोगी मानिसले खोक्दा हाछ्यु गर्दा वा कुरा गर्दा संक्रमितको मुख वा नाकबाट हावामा क्षयरोगको ब्याक्टेरिया फैलिन्छ भने अर्को व्यक्तिले स्वास फेर्दा आफ्नो फोक्सोमा सो ब्याक्टेरिया निलेमा सो रोग सर्छ । बच्चालाई बीसीजीको खोप लगाउने, क्षय रोगका बिरामीको नजिक जाँदा मास्कको प्रयोग गर्ने, क्षय रोगका बिरामीको वरपर श्वसन स्वच्छता बनाउनुपर्ने, शिक्षा र जागरूकताले पनि यो रोग लाग्ने संख्यामा कमि ल्याउन सकिने चिकित्सकहरुले बताएका छन् ।