
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दोषी ठहर भएको प्रतिवेदन तयार पारिएको छ ।
सहकारी संस्था बचत रकम संसदीय छानविन विशेष समितिले आज संसदमा प्रतिवेदन बुझाउने भएको छ । तीन महिना १५ दिन लामो अनुसन्धानपछि समितिले आज प्रतिवेदन बुझाउन लागेको हो । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाउनु हुनेछ ।
सहकारीबाट आएको पैसा गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको भन्दै रास्वपाका सभापतिलाई दोषी ठहर गरेको हो । लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको प्रमाण खोज्दै आएका छन् । तर छानविन समितिले उनको दोष पुष्टि हुने दर्जनौँ प्रमाण जुटाएको छ । समितिको बैठकले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई कारबाहीका लागि सिफारिस समेत गरेको छ ।
कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबि) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैँकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानविनबाट पुष्टि भएको छ । सहकारी तथा गोर्खा मिडियाका कागजपत्र, आरोपी तथा सञ्चालकहरुको बयान, पीडितहरुको उजुरी तथा लामिछाने आफैँले हस्ताक्षर गरेका दस्ताबेजका आधारमा उनलाई दोषी मान्ने गरी प्रतिवेदन तयार पारिएको समितिका एक सदस्यले बताएका छन् ।
लामिछानेसहित ९ जनालाई दोषी ठहर गरी थप कारबाहीका लागि सरकारलाई लेखी पठाउन समितिले निष्कर्ष निकालेको छ ।