काठमाडौं । नेपालबाट ४० मेगावाट विद्युत निर्यात गर्न बंगलादेशको अन्तरिम सरकारले स्वीकृति दिएको छ ।
आज नेपालबाट ४० मेगावाट विद्युत निर्यातका लागि बंगलादेशको अन्तरिम सरकारले स्वीकृति दिएको ऊर्जा तथा खनिज स्रोतका सल्लाहकार फौजुल कबिर खानले जानकारी दिनुभयो । नेपालबाट भारतको मुजफ्फरपुर सबस्टेशन हुदै बंगलादेशमा विद्युत लैजान पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले पहल गरेका थियो । बंगलादेशले बिजुली किन्ने योजना स्वीकृत गरेसँगै नेपाल सरकारले दशैँअघि नै बंगलादेश र भारतका ऊर्जामन्त्रीहरूसँग संयुक्त छलफल गरेर हस्ताक्षर गर्ने र बिजुली निर्यातको तयारी गरेको छ । यसअघि गत साउनमै सम्झौता गर्ने तयारी भएकोमा बंगलादेशमा सरकार विरोधी आन्दोलन भएकाले विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सम्झौता हुन सकेको थिएन ।
नेपालबाट आयात गर्ने बिजुलीको मूल्य प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्ट अर्थात् ७ दशमलव ३२ टाका तोकिएको सरकारले जनाएको छ । नेपालको बिजुली बंगलादेश निर्यातका लागि भारतीय सरकारले प्रसारणलाइनको प्रयोग गर्न अनुमति दिएको छ । बंगलादेशले अहिले बिजुली किन्न शुरू गरेमा बंगलादेश, नेपाल र भारतबीच त्रिपक्षीय ऊर्जा सहकार्यको नयाँ युग शुरू हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।