जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकामा स्थानीयको जग्गा वर्गिकरण गर्ने क्रममा धेरै नागरिकहरुको जग्गाको वर्ग कायम फरक परेको भेटिएको छ ।
नगरपालिकाबाट जग्गा वर्गिकरण हुँदा धेरै स्थानीय नागरिकहरुको जग्गाको वर्ग कायम फरक पर्न गएको देखिएको हो । हाल तिरो तिर्न जाने क्रममा जग्गा वर्गिकरणमा फरक भएको पाएपछि स्थानीय आक्रोशित भएका छन् । विशेषगरी रोडको दायाँबायाँको घर तथा जग्गा वर्गीकरण गर्ने क्रममा त्रुटि भएको देखिएको छ । हाल दैनिकजसो नागरिकहरु समस्या लिएर नगरपालिका धाउने गरेका छन् । केही दिन अघि मात्रै जिरी ६ चेप्टेकी बालकुमारी जिरेल यस्तै समस्या लिएर नगरपालिका पुगेकी थिइन् ।
पास कन्सल्टेन्ट प्रा.ली.बत्तिसपुतली काठमाडौंले जिरी नगरपालिकाभित्रको जग्गा वर्गिकरणको सहजिकरण गरेको थियो । २०८० साल असारमा अन्तिम प्रतिवेदन बुझाएको उक्त कन्सल्टेन्टले जिरीको जग्गा वर्गिकरण गर्ने क्रममा करिब १५ लाखको हाराहारीमा खर्च भएको थियो ।
तर, अहिले धेरै नागरिकहरुको जग्गाको वर्ग कायम फरक परेको भेटिएको छ । तिरो तिर्न जानेक्रममा स्थानीयले आफुहरुको घर जग्गाको वर्ग कायम फरक भएको थाहा पाएका छन् ।
जिरी नगरपालिका ६ कै पद्यममाया जिरेलले हाटडाँडामा रहेको आफ्नो दुई वटै घर सार्वजनिकमा परेको बताएकी छन् ।
जिरी ६ का जाफुरी शेर्पाले पनि आफु लगायत अन्य धेरै छिमेकीकोे घरहरुको पनि फरक वर्ग कायम भएको बताएका छन् ।
जनताले दुख पाएको भन्दै गुनासो गरिरहँदा जिरी नगरपालिकाले जग्गाको वर्ग कायम फरक परेको वा वर्गिकरण छुट भएको भएमा सुधारको लागि नगरपालिकामा निवेदन दिन आव्ह्वान गरेको छ । जग्गा वर्गीकरणमा देखिएको त्रुटीपछि जनताले हैरानी खेप्नुपर्ने भएकोले नगरले सुधारको लागि निवेदन माग गरेको जनाएको छ ।
वर्गीकरणको क्रममा फरक परेकाहरुले जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी, तिरो तिरेको रसिद, नागरिकताको प्रतिलिपीसहितको कागजातको साथमा निवेदन नगरमा पेश गर्न सक्नेछन् । वर्गिकरणको क्रममा कुनै फरक परेमा सुधारको लागि नगरले निवेदन पेश गर्न आग्रह गरेको हो ।