दोलखा । दोलखाका स्थानीय तहहरुले बागमती प्रदेश सरकारबाट पहिलो किस्तावापत १३ करोड बढी अनुदान पाउने भएका छन् ।
प्रदेश सरकारमार्फत् जिल्लामा सशर्त, समपुरक, वित्तीय समानीकरण र विशेष अनुदानतर्फ पहिलो किस्तामा १३ करोड ८० लाख १७ हजार ७५० रुपैयाँ आउने भएको हो । जसअनुसार सशर्त अनुदानको पहिलो किस्तावापत दोलखाका ९ स्थानीय तहले ५ करोड ८२ लाख १५ हजार २५० रुपैयाँ पाउने भएका छन् । सशर्त अनुदानतर्फ सबैभन्दा बढी कालिञ्चोक गाउँपालिकाले ८२ लाख ३० हजार पाउने भएको छ भने बिगु गाउँपालिकाले ८२ लाख ५ हजार पाउने भएको छ ।
यस्तै गौरीशंकर गाउँपालिकाले सशर्त अनुदानतर्फ ७८ लाख ५२ हजार, जिरी नगरपालिकाले ६३ लाख ७१ हजार, मेलुङ गाउँपालिकाले ६० लाख ३३ हजार ७५०, भीमेश्वर नगरपालिकाले ५७ लाख ६ हजार २५०, बैतेश्वर गाउँपालिकाले ५५ लाख ३२ हजार २५०, तामाकोशी गाउँपालिकाले ५३ लाख १४ हजार ७५० र शैलुङ गाउँपालिकाले ४९ लाख ७० हजार २५० पाउने भएको हो ।
समपुरक अनुदानतर्फ ४ करोड १२ लाख
यसैगरी, समपुरक अनुदानतर्फ दोलखाका स्थानीय सरकारलाई पहिलो किस्तामा ४ करोड १२ लाख अनुदान प्राप्त हुने भएको छ । प्रदेशभित्रका ११९ स्थानीय तहमध्ये ११३ स्थानीय तहलाई चालु वर्ष कुल २ अर्ब ४८ करोड ८ लाख ५० हजार विनियोजन भएकोमा पहिलो किस्तावापत ६२ करोड २ लाख १२ हजार ५ सय रुपैयाँ निकासा भएको हो । जसमध्य दोलखाले ४ करोड १२ लाख ५० हजार रुपैयाँ अनुदान पाउने भएको हो ।
जसअनुसार भीमेश्वर नगरपालिकाले सबैभन्दा बढी ७५ लाख पाउने भएको छ । जिरी नगरपालिकाले ३७ लाख ५० हजार पाउने भएको छ भने गौरीशंकर, तामाकोशी, बैतेश्वर, मेलुङ, बिगु, र शैलुङ गाउँपालिकाले ५०/५० लाखका दरले ३ करोड अनुदान पाउने भएका हुन् । कालिञ्चोक गाउँपालिकाले भने समपुरक अनुदान पाएको छैन ।
वित्तीय समानीकरणको पहिलो किस्तामा २ करोड ७३ लाख
यस्तै वित्तीय समानीकरणतर्फ दोलखाका ९ स्थानीय तहले पहिलो किस्तामा २ करोड ७३ लाख २ हजार ५०० रुपैयाँ पाउने भएका छन् । वित्तीय समानीकरणतर्फ सबैभन्दा बढी भीमेश्वर नगरपालिकाले पहिलो किस्तावापत ४३ लाख २७ हजार ५०० रुपैयाँ पाउने भएको छ । कालिञ्चोक गाउँपालिकाले ३२ लाख ५७ हजार, बैतेश्वरले ३० लाख ५ हजार २५०, मेलुङले २९ लाख ८० हजार ५०० र तामाकोशीले २९ लाख ५३ हजार २५० रुपैयाँ पाउने भएको हो । शैलुङले पहिलो किस्तावापत २८ लाख ५१ हजार ५००, बिगुले २७ लाख ६३ हजार २५०, गौरीशंकर गाउँपालिकाले २६ लाख ४० हजार ५०० र जिरी नगरपालिकाले २५ लाख २३ हजार ७५० रुपैयाँ पाउने भएको छ ।
विशेष अनुदान ६ स्थानीय तहलाई मात्रै
विशेष अनुदान भने जिल्लाका ६ स्थानीय तहले मात्रै पाउने भएका छन् । जिरी नगरपालिका तथा कालिञ्चोक र बिगु गाउँपालिका बाहेक अन्य ६ स्थानीय तहले विशेष अनुदान पाउने भएका हुन् । बागमती प्रदेशभित्रका ११९ स्थानीय तहमध्ये १०६ स्थानीय तहलाई ७२ करोड १८ लाख विशेष अनुदान छुटयाईएकोमा पहिलो किस्तावापत १८ करोड ४ लाख ५० हजार निकासा भएको छ ।
त्यसमध्य जिल्लाको भीमेश्वर नगरपालिका, गौरीशंकर, तामाकोशी, बैतेश्वर, मेलुङ र शैलुङ गाउँपालिकाले पहिलो किस्तावापत १ करोड १२ लाख ५० हजार पाउने भएका छन् । जसअनुसार भीमेश्वर नगरपालिकाले १२ लाख ५० हजार पाउने भएको छ भने गौरीशंकर, तामाकोशी, बैतेश्वर, मेलुङ र शैलुङले पहिलो किस्तावापत २०/२० लाखका दरले १ करोड पाउने भएका हुन् ।