
दोलखा । लामो समयदेखि सुनसान रहेको चरिकोट बजारमा घटस्थापना सुरु भएसँगै चलहलपहल बढ्न थालेको छ ।
दशैंका लागि खाद्यन्न, लत्ताकपडा लगायतका सामाग्री किन्न गाउँ–गाउँबाट मानिसहरु आउन थालेपछि चरिकोट बजारमा मानिसहरुको चहलपहल सुरु भएको हो । आर्थिक मन्दिका कारण चरिकोट बजार लामो समयदेखि सुनसान थियो । आजबाट केही चहलपहल सुरु भएपनि उत्साहजनक भने नभएको व्यवसायीहरुले बताएका छन् । उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बजारमा मानिसहरुको चाप केही बढेपनि उत्साहजनक नरहेको बताउनुभयो । आर्थिक मन्दिका कारण मानिसहरुलाई सामान किन्ने र लाउने सोक नभएकाले पनि चाप घटेको हुनसक्ने अध्यक्ष श्रेष्ठको अनुमान छ ।
विगतका वर्षहरुमा चरिकोट बजारमा दशैंका लागि सामान किन्न आउने मानिसहरुको भीड हुने गरेको थियो भने चाडपर्व बाहेक पनि बजारमा चहलपहल देखिन्थ्यो । तर, पछिल्लो केही समय यता चरिकोट बजारमा मानिसहरुको चहलपहल निकै घटेको छ । फेन्सी व्यवसायी संघ दोलखाका अध्यक्ष कृष्ण श्रेष्ठले बजारमा चहलपहल उत्साहजनक नहुँदा चरिकोटका व्यवसायीहरुमा निराशा छाएको बताउनुभयो । कतिपय व्यापारीले यो वर्ष दशैंका लागि आफ्नो व्यवसायमा सामान नथपि भएको सामान मात्रै विक्रि गरिरहेको उहाँले बताउनुभयो ।
यस्तै, टेलर व्यवसायी संघ दोलखाका अध्यक्ष हरि नेपालीले दशैंको समयमा समेत टेलर व्यवसायीले राम्रो काम पाउन नसकेको गुनासो गर्नुभयो । विगतका दशैंमा कपडा सिलाउन एक महिना अघिदेखि १० जना कालिगढ राखेर रातभरी खटिँदा पनि सिलाउन नभ्याउने अवस्था हुने गरेकोमा अहिले तीन जनालाई पनि काम पु¥याउन सक्ने अवस्था नरहेको उहाँको भनाई छ । घटस्थापना सुरु भएपछि चरिकोट बजारमा मानिसहरुको चाप केही बढेको देखिए पनि उत्साहजनक हुन नसकेको देखिएको छ । चरिकोट बजार लामो समय सुनसान भएपछि कतिपय सटर खाली छन् भने सटर भाडामा लिएर व्यवसाय गरिरहेका व्यापारीहरुलाई भाडा तिर्नै मुस्किल पर्ने गरेको छ ।