काठमाडौँ । बाढी पहिरोका कारण क्षतिग्रस्त वीपी लोकमार्गमा मर्मतको काम भईरहेकाले आजबाट राति १० घण्टा सडक वन्द हुने भएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरले आज सूचना जारी गरि यात्रा सरल र सुरक्षित बनाउनका लागि साँझ ६ बजेबाट बिहान ४ बजेसम्म वीपी लोकमार्गको धुलिखेल–भकुण्डेबेँसी–वर्षेखोला सडक खण्ड वन्द हुने जानकारी गराएको हो । सो सडक खण्डमा आज देखि निर्माण सम्पन्न नभएसम्म राति १० घण्टा बन्द गरिने डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल ईन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार काभ्रेपलाञ्चोक जिल्ला भित्र पर्ने १ नम्वरपुल–चौकीडाँडा–वर्षेखोला खण्डको करिव ८ किलोमिटर सडकको ट्रयाक मर्मत तथा सुधार गर्ने काम भईरहेको छ । सो सडक खण्डको करिव ८ किलोमिटर भन्दा बढि सडक पूर्ण रुपमा बगाएकाले हाल ट्रयाक निर्माण गरि यात्रुबाहक सवारी साधनका लागि मात्र आवागमन खुलाईएपनि जुनसुकै समयमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकाले हाललाई बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द रहने सडक डिभिजन भक्तपुरद्धारा जारी सूचनामा उल्लेख छ ।