images
images

दोलखामा सार्वजनिक सवारीका साधनमा मनोमानी भाडा, स्थानीय सरकारले दियो कारवाहीको चेतावनी

  • ३० आश्विन २०८१, बुधबार १७:४५

दोलखा । दशैं–तिहारमा गाउँघर आउने जाने यात्रुहरुलाई सार्वजनिक सवारीका साधनहरुले मनोमानी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।

दोलखा हुँदै काठमाडौं आउने जाने यात्रुवाहक बस, इलेक्ट्रिक भ्यान, सुमो लगायतका सार्वजनिक सवारीका साधनले मनोमानी भाडा लिएको यात्रुहरुले गुनासो गरेका छन् । दोलखामा यातायात सेवा सञ्चालन गर्दै आएका पूर्व अरनिको र रोल्वालिङ यातायातले दशैंका यात्रुकालागि टिकट काउन्टर नियमित नखोलेको, नियमित क्यू नचलाएको तथा यात्रुवाहक बस, सुमो र इभी गाडीले रिजर्भको नाममा मनोमानी भाडा लिने गरेको यात्रुहरुले बताएका छन् ।

चरिकोटवाट काठमाडौंसम्म बसमा यात्रा गर्दा ५२८, सुपर एक्सप्रेसमा ६५४ र इभी गाडी र जिपमा यात्रा गर्दा ७५० रुपैयाँ भाडा दर निर्धारण गरिएको छ । तर, रिजर्भको नाममा बसले १ हजार तथा जिप र इभी गाडीले ११०० सम्म भाडा लिने गरेका छन् । खालि कागजमा रकम लेखेर सादा टिकट वितरण गरेको, अस्वभाविक भाडा लिएको तथा यात्रुहरुलाई अमर्यादित र अभद्र व्यवहार गरेको गुनासोपछि शैलुङ गाउँपालिकाले एक साताअघि पूर्व अरनिको यातायातलाई ध्यानाकर्षण गराएको थियो ।

तर, गाउँपालिकाको ध्यानाकर्षण पत्रलाई समेत अरनिकोले बेवास्ता गरेको भन्दै शैलुङ गाउँपालिका–८ नम्बर वडाका अध्यक्ष धनवहादुर तामाङले मनपरी गरे कानून वमोजिम कारवाही गर्ने चेतावनी दिएका छन् । अध्यक्ष तामाङले आज बिज्ञप्ति जारी गरी मनोमानी भाडा असुली र गैर जिम्मेवारीपन दोहोरिएमा कानून वमोजिम कारवाही अघि बढाउने चेतावनी दिएका हुन् ।

पूर्व अरनिको यातायातको चरिकोटस्थित काउन्टरका कर्मचारी रविन चौंलागाईले भने समितिको चरिकोट काउन्टर खुल्ला रहेको र नियमित क्यूमा मनोमानी भाडा नलिएको प्रतिक्रिया दिएका छन् ।

यस्तै, रोल्वालिङ यातायातका अध्यक्ष मिङ्गुर शेर्पाले पनि नियमित क्यूका बस र इभी संचालनमा रहेको भन्दै तोकिएको भन्दा बढी भाडा नलिएको दावी गरेका छन् ।