images
images

चरिकोटमा बिस्फोटः प्रहरी भन्छ, ‘बम पड्किएको होईन’

  • ३० कार्तिक २०७९, बुधबार १४:३०

दोलखा । दोलखा सदरमुकाम चरिकोटस्थित सातदोबाटोमा आज एक्कासी ठुलो आवाजमा शंकास्पद बस्तु पड्किएपछि भागदौड मच्चिएको छ ।

सातदोबाटोस्थित भीमेश्वर नगरपालिकाले निर्माण गरिरहेको विजनेश कम्लेक्स नजिकै थुपारिएको फोहोरमा एक्कासि विस्फोटको आवाज सुनिएपछि बम रहेको भन्दै केहीबेर भागदौड मच्चिएको हो । फोहोरको थुप्रोबाट विस्फोटको आवाज आएपछि सुरुमा दोलखा प्रहरीलाई खबर गरिएको थियो । विस्फोटको आवाज आएको केही समयमै दोलखा प्रहरी नेपाली सेनाको बम डिस्पोजल टोली सहित घटनास्थलमा पुग्यो । तर त्यहाँ कुनै शंकास्पद बस्तु फेला नपरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) गंगा पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनाको जानकारी पाए लगत्तै नेपाली सेना सहितको टोली घटनास्थलमा पुगेर चेकजाँच गर्दा कुनै बस्तु फेला पार्न नसकिएको हो । फोहोरसँगै स्थानीयले लाइटर फालेको र दिउँसोको घामले लाइटर पड्किएको हुनसक्ने प्रहरीको अनुमान छ । तर विस्फोटको आवाज निकै ठुलो सुनिएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले पनि नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको छ । यसअघि गएराति दोलखाको तामाकोशी गाउँपालिकामा पार्किङ गरि राखिएको उपाध्यक्ष चड्ने गाडी र डिजिटल साइनबोर्ड नै तोडफोड भएको थियो ।