images
images

आम निर्वाचनको दिन मंसिर ४ गते देशभर मौसम सफा रहने

  • ३० कार्तिक २०७९, बुधबार १७:११

काठमाडौं । निर्वाचनको दिन मौसम सफा रहने भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको दिन देशभरको मौसम सफा रहने भएको हो । जल तथा मौसम विज्ञान विभागले आज तीन दिनको मौसम बुलेटिन सार्वजनिक गर्दै आम निर्वाचनको दिन मंसिर ४ गते देशभरको मौसम सफा रहने जनाएको हो । नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले हल्का चिसो बढेपनि पानी नपर्ने विभागले जनाएको छ । विभागका अनुसार शुक्रवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । शनिवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने, उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैगरी, आइतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने, उच्च भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख छ ।