काठमाडौं । नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवँ पूर्व सञ्चार मन्त्री पार्वत गुरुङले उपनिर्वाचनको मुखमा उत्तेजक अभिव्यक्ति दिनुभएको छ ।
आसन्न उपनिर्वाचनमा नेपाली कांग्रेसँग प्रतिस्पर्धा नहुने भन्दै उहाँले नेकपा माओवादी केन्द्रलाई निर्वाचनबाटै बिदाई गर्ने जिकिर गर्नु भएको हो । नेकपा माओवादी केन्द्र राष्ट्रिय राजनीतिबाट बाईबाई भैसकेको दावी गर्दै नेता गुरुङले दोलखावाट पनि बिदाई गर्नु पर्ने बताउनुभयो ।
एमाले गौरीशंकर–काठमाडौं सम्पर्क मञ्चले आज काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता गुरुङले माओवादी हत्या, हिंसामा विश्वास गर्ने र कमिसनमा रमाउने पार्टी भएको आरोप लगाउनुभयो । दोलखाको गौरीशंकर गाउँपालिका स्थायी घर भएका नेता गुरुङले माओवादीले २०७४ सालको स्थानीय तहको निर्वाचनमा कुलवहादुर तामाङको हत्या र दिलवहादुर खत्रीलाई अपाङ्ग बनाएको आरोप पनि लगाउनुभयो ।
माओवादीप्रति आक्रमकरुपमा प्रस्तुत भएका नेता गुरुङले आसन्न उपनिर्वाचनमा गौरीशंकरवाट कुलवहादुरको रगतको बदला लिन जरुरी रहेको भन्दै उत्तेजक अभिव्यक्ति पनि दिनुभएको छ । जनयुद्धमा माओवादीवाट हत्या गरिएका बुद्धिमान पाख्रिनदेखि कोरोनाले निधन भएका नेता पशुपति चौंलागाई सम्मलाई सम्झदै उहाँले सहिदहरुको रगतले सिञ्चित दोलखाली भूमिवाट माओवादीलाई बाईबाई गर्ने दावी गर्नुभयो ।
माओवादी बिरुद्ध खनिएका एमाले नेता गुरुङले आफुहरुको प्रतिश्पर्धा काँग्रेससँग नभएको भन्दै कांग्रेससँग मिलेर देशमा स्थायित्व दिन चाहेको बताउनुभयो । मंसिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकामा पनि उपाध्यक्ष पदकालागि निर्वाचन हुँदैछ ।
२०७४ सालमा अध्यक्ष, उपाध्यक्षसहित अधिकाँश वडा जितेर बहुमत कार्यपालिका बनाएको एमाले २०७९ सालको निर्वाचनमा नराम्रोसँग पराजित भएको थियो । पछिल्लो स्थानीय निर्वाचनमा माओवादी र कांग्रेसवीच भएको चुनावी तालमेलवाट माओवादीले अध्यक्षसहित बहुमत वडा अध्यक्ष जितेको थियो भने कांग्रेसवाट उपाध्यक्षसहितका जनप्रतिनिधि निर्वाचित भएका थिए ।
गौरीशंकर गाउँपालिकाको उपनिर्वाचनमा माओवादी, एमाले र कांग्रेस वीच त्रिपक्षिय प्रतिश्पर्धा हुँदैछ ।