images
images

दोलखामा अर्को साताबाट मात्रै ‘बुस्टर डोज’ दिईने

  • ३ माघ २०७८, सोमबार ००:३५

दोलखा । सरकारले आइतबारदेखि मुलुकभर फ्रन्टलाइनरलाई कोभिड विरुद्धको खोपको बुस्टर डोज दिन सुरु गरेपनि दोलखामा भने खोप नआउँदा समस्या भएको छ ।

जिल्लामा खोप प्राप्त नभएको र आवश्यक तयारी भइनसकेका कारण फ्रन्टलाइनरलाई आइतबारबाट कोभिड विरुद्धको खोपको बुस्टर डोज नलगाइएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार फ्रन्टलाइनरमा ६ सय २९ स्वास्थ्यकर्मी र १२ सय स्वास्थ्य स्वयमसेविका गरी १८ सय २९ जना छन् । जिल्लाका सुरक्षाकर्मी, सरसफाइकर्मी लगायत अन्य फ्रन्टलाइनर कति छन् ? भन्ने एकिन तथ्याँक समेत स्वास्थ्य कार्यालयसँग उपलव्ध छैन । मुलुकभर आइतबारबाट खोप अभियान चलेपनि जिल्लामा खोप आइनसकेको र जनशक्तिको हिसावले तत्काल खोप अभियान सुरु गर्न सम्भव नभएकाले बुस्टर डोज लगाउन सुरु नगरिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोभिड १९ संकट व्यवस्थापन समितिको बैठक बसेर मात्रै बुस्टर डोज दिनेबारे छलफल गरेर प्रक्रिया अघि बढाइनेछ । आवश्यक छलफलपछि खोप माग गरिने र अर्काे साताबाट बुस्टर डोज लगाउन सुरु गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरुलाई हाल सञ्चालित खोप केन्द्र र थपिने खोप केन्द्रहरुबाट नै बुस्टर डोज दिइने छ । फ्रन्टलाइनर अन्तर्गत बुस्टर मात्रा खोप पाउनेहरुमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सबै कर्मचारी पर्दछन् । साथै नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी सहित सबै सुरक्षाकर्मी, सार्वजनिक फोहोर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, महिला स्वास्थ्य स्वयंसेविकाले खोप पाउने छन् ।