images
images

राष्ट्रियसभा निर्वाचनः मतपत्र छपाइको काम सकियो, दुई किसिमको मतपत्र प्रयोग हुने

  • ३ माघ २०७८, सोमबार ०२:२१

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको तयारी करिव अन्तिम चरणमा पुगेको छ ।

आयोगले मतपत्र छपाईको काम सम्पन्न गरेसँगै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको हो । निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने भएको छ । निर्वाचन आयोगका अनुसार रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेशसभा सदस्यले प्रयोग गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि करिव दुई हजार पाँच सय थान मतपत्र छापिएको छ ।

छापिएका मतपत्र भोलीदेखि निर्वाचन अधिकृतको कार्यालयमा पठाउन सुरु गरिने र ७ गतेभित्र सबै निर्वाचन अधिकृतको कार्यालयमा पठाइसक्ने आयोगको योजना छ । राष्ट्रिसभाको निर्वाचन माघ १२ गते हुँदैछ । निर्वाचनमा सातै प्रदेशमा कुल २ हजार २५ जना मतदाता छन् । निर्वाचनमा स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ । १९ रिक्त सदस्य पदका लागि निर्वाचन हुन लागेको हो ।