रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा जनप्रतिनिधिदेखि एकै पटक पालिकाका ७ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द भएको छ ।
पछिल्लो समय बढ्दो कोरोना माहामारीमा पालिका अध्यक्ष खड्ग बहादुर सुनुवारदेखि प्रमुख प्रसाशकीय अधिकृत ईश्वरी प्रसाद सुवेदी र अन्य कर्मचारीहरुलाई पनि कोरोना पुष्टि भएपछि पालिकाबाट दिइने सेवा बन्द भएको हो । पालिकामा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना र अन्य २ जना स्थानीयमा कोरोना पुष्टि भएपछि कार्यालय बन्द भएको पालिकाका स्वास्थ्य संयोजक जागिर रायले जानकारी दिनुभयो । पालिकाकी उपाध्यक्ष राधिका नेवारले आज सुचना जारी गर्दै आजदेखि माघ ७ गतेसम्म पालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द भएको जानकारी गराउनुभएकोे हो ।
छिमेकी स्थानीय तह दोलखाको जिरी नगरपालिकामा केही साता यता धमाधम संक्रमित फेला परिरहेको बेला गोकुलगंगामा पनि पालिकाको कामकाजनै प्रभावित हुने गरी संक्रमित फेला परेका छन् । यसअघिको पहिलो र दोस्रो लहरमा पनि धेरैलाई कोरोना पुष्टि भएपछि पालिकाबाट केही समय सेवा बन्द हुन पुगेको थियो । तर, अहिले पनि पालिकाभित्रै कोरोना फेला परेपछि स्थानीय संकट व्यवस्थापन समितिको बैठकले कोरोना नियन्त्रणको लागि भन्दै एक साताको लागि गाउँपालिकाको कार्यालय बन्द गर्ने निर्णय गरेको छ । हाल पालिकामा १० जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्य एक जनाको गोकुलगंगा अस्पतालमा उपचार भइरहेको छ भने अन्य संक्रमित होम आइसोलनमा रहेको पालिकाका स्वास्थ्य संयोजक रायले बताउनुभयो ।
देशभर कोरोना भाइरसको संक्रमण दर दिनानुदिन बढिरहेको बेला पछिल्लो पटक गोकुगंगा गाउँपालिकामा पनि संक्रमितहरु धमाधम फेला पर्न थालेका छन् । पालिकामा एक साता अघिदेखि कोरोना संक्रमित देखिन थालेका हुन् ।