images
images

बागमती प्रदेशमा ४६६ प्रहरी पुरस्कृत, ९६ जनालाई विभागीय कारवाही

  • ३ माघ २०७९, मंगलवार १५:५३

जिरी (दोलखा) । बागमती प्रदेशमा ६ महिनाको अवधिमा ४ सय ६६ जना प्रहरी पुरस्कृत भएका छन भने ९६ जना प्रहरी कर्मचारी विभागीय कारवाहीमा परेका छन् ।

आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा बागमती प्रदेशमा ४ सय ६६ जना प्रहरी पुरस्कृत भएका हुन् भने ९६ जना प्रहरी विभागीय कारवाहीमा परेका हुन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका अनुसार आफ्नो कार्य क्षेत्रभित्र उत्कृष्ट कार्य गर्ने प्रहरीलाई पुरस्कृत गरिएको र आचारण विपरित कार्य गर्ने कर्मचारी प्रहरीलाई कारवाही गरिएको हो । सो अवधिमा प्राकृतिक सम्पदाको अवैध दोहन नियन्त्रण गर्ने उदेश्यले जिल्ला समन्वय समिति, सम्बन्धित स्थानीय तह तथा जिल्ला सुरक्षा समितिको समन्वयमा अवैध रुपमा सञ्चालित १ सय ९९ वटा क्रसर उद्योग बन्द गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी वरिष्ठ उपरिक्षक दिपक रेग्मीले जानकारी दिनुभयो । यसैगरी, ६ महिनाको अवधिमा विभिन्न अपराधमा संलग्न १४ सय ५ जना पक्राउ परेका छन भने लागु औषध ओसारपसारमा संलग्न २ सय ५७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच, बागमती प्रदेशको विभिन्न जिल्लामा बेपत्ता भएका ३ सय भन्दा बढी मानिस फेला परेका छन् । बेपत्ता भएका मानिसहरुको खोजी गर्ने उद्देश्यले (गो होम) अभियान सञ्चालन गरी दोलखा सहित प्रदेशभित्रका ३ सय ३० जना मानिस फेला परी आफन्तको जिम्मा लगाइएको प्रहरी वरिष्ठ उपरिक्षक रेग्मीले बताउनुभयो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले आर्थिक वर्षको साउनदेखि पौषसम्मको गतिविधि सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।